गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ ले काठमाडौंमा बसोबास गर्दै आएका वडावासीलाई लक्षित गरी पाँचदिने सेवा शिविर सञ्चालन गरेको छ।
गौरीशंकर गाउँपालिका–९ को आयोजनामा काठमाडौंको सरस्वतीनगरस्थित माउन्ट एभरेस्ट समिटर्स क्लबको कार्यालयमा भदौ ७ गतेदेखि ११ गतेसम्म सेवा शिविर सञ्चालन गरिएको हो।
शिविरमार्फत वडासँग सम्बन्धित विभिन्न सेवाका साथै सामाजिक सुरक्षा भत्ता नवीकरणलगायतका सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ। काठमाडौंमा बसोबास गर्ने वडावासीलाई गाउँमै पुगेर सेवा लिनुपर्ने बाध्यता कम गर्दै स्थानीय तहबाट प्रदान हुने सेवा सहज र पहुँचयोग्य बनाउने उद्देश्यले शिविर आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।

शिविरमा वडावासीको उत्साहजनक सहभागिता रहेको छ। बिहान १० बजेदेखि सञ्चालन हुने शिविरमा सेवा लिन छुटेका लाभग्राहीले आवश्यक कागजात तथा फोटोसहित उपस्थित भई वडा प्रतिनिधिमार्फत सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
वडा कार्यालयले काठमाडौं तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण वडावासी र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई तोकिएको समयभित्र शिविरमा उपस्थित भई उपलब्ध सेवाको लाभ लिन आग्रह गरेको छ।

स्थानीय तहका सेवा प्रवाहलाई नागरिकको सहज पहुँचमा पुर्याउने तथा राजधानीमा रहेका वडावासीसँग वडा कार्यालयको प्रत्यक्ष सम्बन्ध कायम गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट सेवाग्राहीलाई समय र खर्च दुवैमा राहत पुग्ने अपेक्षा गरिएको छ।


लेखकको सम्वन्धमा