हुम्लाका बाढीपहिरो पीडितलाई राहत वितरण
काठमाडौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका– ६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले राहत सामग्री पठाएको छ ।
यही जेठ १ गते राति गाउँभन्दा माथिदेखि बाढीपहिरो आउँदा तिल गाउँका १९ परिवारका ३३ जना अहिले त्रिपालमुनि बस्दै आएका छन् । तिलगाउँमा आएको बाढीपहिरोबारे अनुसन्धान, अवलोकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली अहिले उक्त स्थानमा रहेको छ ।
प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी घर (टेन्ट), म्याट्रेस सेटलगायत राहत सामग्री आइपुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । प्रदेश सरकारले पठाएको राहत सामग्री प्रजिअ पाण्डेय, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेललगायतले खार्पुनाथ गाउँपालिका– १ बोक्चेगौडामा पुगेर लिएका थिए ।


प्रतिकृया दिनुहोस्