आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार (आजदेखि) देखि दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि करिब पाँच महिना दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको हो ।
प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी–वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न १५ अर्ब रुपैयाँखर्च हुने आयोजनाले जनाएको छ ।
स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ः०० बजे खुलेरराति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ । उडान सुरक्षामा खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उनले बताए ।
नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थितगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।
मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ ।


प्रतिकृया दिनुहोस्