मनाङको चामेसम्म सार्वजनिक बस सेवा सञ्चालनमा
काठमाडौं । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ ।
ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन भएको हो । प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरे । सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्वकालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको वर्षैंपछि मनाङमा बस सेवा सञ्चालन भएको बताएका छन् ।
गत चैत ७ गते पहिलो पटक यात्रुबाहक बस आइपुगेको मनाङमा सहज रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको थियो । मनाङमा निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युतका सामान लिएर १० चक्के ट्रकसमेत पुग्ने गरेका छन् । गत फागुन २५ गते जिल्ला प्रशासन मनाङमा बसेको समन्वयात्मक बैठकले बेसीसहरबाट चामेसम्म बस सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुरूप स्थानीय प्रशासनले डुम्रे–बेसीसहर–चामे सडक योजना र अन्य सरोकारवाला निकायलाई आवश्यक समन्वय पश्चात बस सञ्चालनमा ल्याइएको हो ।
पन्ध्र वर्षअघिदेखि मोटर चल्न थालेको यहाँ हालसम्म बोलेरो, टाटासुमोजस्ता साना सवारीसाधनले मात्र यात्रु बोक्दै आएका थिए । बेसीसहरबाट चामेसम्मको ६५ किलोमिटर सडक पार गर्न अब बोलेरो जिपसँगै बस चढ्न सकिने भएको छ । सो रुटको भाडादर ७४० रुपैयाँ कायम गरिएको छ ।
यस सडक अन्तर्गत बेसीसहरदेखि खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र छ । खुदीभन्दा माथि चामेसम्म ठाउँ–ठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक छ ।


प्रतिकृया दिनुहोस्