रहेनन् कलाकार जयनन्द लामा

रहेनन् कलाकार जयनन्द लामा

 

काठमाडौं । लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको मंगलवार साँझ हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । केही दिन अगाडि मात्र उनको घाँटीको शल्यक्रिया भएको थियो ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै लोकगीत गाउनुका साथै दुई सयभन्दा बढी फिल्म र टेलिश्रृंखलामा अभिनय समेत गरेका छन् । २०३० सालमा ‘मनको बाँध’ नामक फिल्मबाट अभिनय यात्रा सुरु गरेका लामाले ‘छक्का पञ्जा, जय भोले, कान्छी, निशानीलगायतका फिल्ममा अभिनय गरेका छन् । उनले ‘माया गर्छु म, कर्मको फल, यथार्थ’लगायतका फिल्मको निर्देशन पनि गरेका छन् । चरित्र अभिनयमा उनी सर्वाधिक व्यस्त कलाकारमा पर्थे ।
लामो समयदेखि लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान समेत गर्दै आएका उनी कशुल गायक पनि हुन् । उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको छ । यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित रहेका छन् ।

लोकप्रिय