‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’

‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’

‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’

पुष्पलाल मेमोरियल कलेजका पुस्तकालयाध्यक्ष रविन्द्र भट्टराईसँग प्रशिक्षार्थि पत्रकार- सोनम याङ्जी शेर्पा, इशा साङ्दान र कुसुम श्रेष्ठले गरेकाे कुराकानी

 

कलेजको पुस्तकालयले विद्यार्थीलाई के-कस्ता सेवा दिइरहेको छ? नयाँ पुस्तक कसरी छानिन्छन् र किनिन्छन्? विद्यार्थीमा पुस्तकालय जाने बानी बसाल्न के-कस्ता चुनौती छन्? अनि डिजिटल पुस्तकालयको भविष्य कस्तो देखिन्छ? यिनै विषयमा पुष्पलाल मेमोरियल कलेज, चाबहिलको पुस्तकालयमा वि.सं. २०६५ देखि कार्यरत पुस्तकालयाध्यक्ष रविन्द्र भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंश :

पुस्तकालयाध्यक्षको पेशा नै किन रोज्नुभयो?

ज्ञान बढाउन, नयाँ कुरा सिक्न र संसार बुझ्नका लागि मैले यो पेशा रोजेँ। यसले कल्पना र रचनात्मक क्षमता वृद्धि गराउँछ, भविष्यमा आत्मनिर्भरता पनि बढाउँछ। अर्को कुरा, यो पेशामार्फत विद्यार्थी भाइबहिनीहरूलाई आफ्नो पेशा रोज्न सघाउन र समाजमा योगदान दिन पाइन्छ।

पुष्पलाल मेमोरियल कलेजको पुस्तकालयमा कहिलेदेखि काम गर्दै आउनुभएको छ?

म वि.सं. २०६५ सालदेखि यस कलेजको पुस्तकालयमा काम गर्दै आएको छु।

पुस्तकालयले विद्यार्थीलाई मुख्य रूपमा के-कस्ता सेवा दिँदै आएको छ?

हामीले विद्यार्थीहरूलाई मुख्यगरी सन्दर्भ सामग्री र विभिन्न पाठ्यक्रमका किताबहरू उपलब्ध गराउँदै आएका छौँ।

पुस्तकालयमा कस्ता प्रकारका पुस्तक, सन्दर्भ सामग्री, जर्नल र पत्रपत्रिका उपलब्ध छन्?

यहाँ पाठ्यक्रमसँग सम्बन्धित पाठ्यपुस्तक, सन्दर्भ पुस्तक, साहित्य तथा सामान्य ज्ञानका पुस्तकहरू उपलब्ध छन्।

विद्यार्थीको मागअनुसार आवश्यक पुस्तक तथा अध्ययन सामग्रीको व्यवस्थापन कसरी गर्नुहुन्छ?

विद्यार्थीको आवश्यकता र मागअनुसार आवश्यक पुस्तक तथा अध्ययन सामग्री छनोट गरी पुस्तकालयमा उपलब्ध गराउँछु र तिनलाई व्यवस्थित रूपमा राख्ने गर्छु।

पुस्तकालयका पुस्तक तथा अन्य सामग्री कति समयमा अद्यावधिक गरिन्छ?

सामान्यतया पुस्तकालयको आवश्यकता र बजेटअनुसार वर्षमा एक वा दुई पटक अद्यावधिक गरिन्छ।

नयाँ पुस्तक तथा अध्ययन सामग्री छनोट र खरिद गर्ने प्रक्रिया कस्तो छ?

नयाँ पुस्तक तथा अध्ययन सामग्री छनोट गर्दा विद्यार्थी र शिक्षकको आवश्यकता तथा पाठ्यक्रमलाई ध्यानमा राखिन्छ। छनोट भएका सामग्रीको सूची तयार गरिन्छ। खरिदपछि प्राप्त पुस्तक जाँच गरी अभिलेखमा चढाइन्छ र व्यवस्थित गरिन्छ।

अहिलेका विद्यार्थीको पठन संस्कृतिलाई तपाईं कसरी नियाल्नुहुन्छ?

म नियमित रूपमा विद्यार्थीहरूको पठनपाठनलाई मध्यनजर गर्छु। उनीहरूले पुस्तक पढे-नपढेको ख्याल राख्ने गर्छु।

विद्यार्थीमा नियमित रूपमा पुस्तकालय प्रयोग गर्ने बानी विकास गराउन के-कस्ता चुनौती छन्?

चुनौती धेरै छन्। पहिलो त, विद्यार्थीमा पढ्ने बानीको कमी छ। दोस्रो, उनीहरू मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्। त्यस्तै, पुस्तकालयमा पर्याप्त स्रोतको अभाव छ र विद्यार्थीलाई समय व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको छ।

कलेजले विद्यार्थीलाई डिजिटल पुस्तकालय वा अनलाइन अध्ययन सामग्रीको सुविधा दिएको छ?

हाम्रो कलेजमा डिजिटल पुस्तकालय तथा अनलाइन अध्ययन सामग्रीको सुविधा पूर्णरूपमा उपलब्ध छैन। आवश्यक अनलाइन अध्ययन सामग्री उपलब्ध गराउने प्रयास भइरहेको छ। भविष्यमा यसलाई विस्तार गर्ने योजना छ।

आगामी दिनमा ई-बुक र डिजिटल पुस्तकालयको भूमिका कस्तो हुनेछ जस्तो लाग्छ?

आगामी दिनमा ई-बुक र डिजिटल पुस्तकालयको भूमिका झन् महत्त्वपूर्ण हुँदै जान्छ। यसले विद्यार्थीलाई अध्ययन गर्न सजिलो बनाउँछ, लागत घटाउँछ र किताब खोज्न लाग्ने झन्झट पनि कम गर्छ।

लोकप्रिय