‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
पुष्पलाल मेमोरियल कलेजकी रिसेप्सनिस्ट नमुना राईसँग प्रशिक्षार्थि पत्रकार-न्यिमा साङ्मो, कर्मा साङ्मो र प्रकृति मगरले गरेकाे कुराकानी
कलेज पुग्ने विद्यार्थी र आगन्तुकको पहिलो भेट प्रायः रिसेप्सनमै हुन्छ। सोधपुछ, समस्या, फोन कल र रेकर्ड एकैसाथ सम्हाल्नुपर्ने यो जिम्मेवारी कस्तो छ? यिनै विषयमा पुष्पलाल मेमोरियल कलेज, चाबहिलकी रिसेप्सनिस्ट नमुना राईसँग सोही कलेजका कक्षा १२ का विद्यार्थीहरूले गरेको कुराकानीको सम्पादित अंश :
सुरुमा आफ्नो परिचय दिनुहोस् न।
नमस्ते, मेरो नाम नमुना राई हो। म यस कलेजमा रिसेप्सनिस्टका रूपमा काम गर्छु।
तपाईंको मुख्य काम र जिम्मेवारी के-के हुन्?
रिसेप्सन भन्नेबित्तिकै रिसेप्सनकै काम भयो। मेरो मुख्य काम विद्यार्थीलाई सजिलो होस् भन्ने हो। कसैलाई केही समस्या छ भने त्यसलाई सजिलो बनाइदिने र विद्यार्थीहरूको रेकर्ड राख्ने काम पनि मेरै जिम्मामा हुन्छ।
एकैपटक धेरै विद्यार्थी वा आगन्तुक आउँदा कसरी व्यवस्थापन गर्नुहुन्छ?
धेरै विद्यार्थी आउँदा पालैपालो कस-कसको के-के समस्या छ, बुझ्नुपर्छ। कसलाई कति ध्यान चाहिन्छ, त्यो पनि हेर्नुपर्छ। सानो काम छ भने म तुरुन्तै पठाइदिन्छु, ठूलो काम वा कार्यक्रम छ भने समूह छुट्याएर ध्यान दिनुपर्ने हुन्छ।
तपाईंको काममा कस्ता चुनौती आउँछन्?
मुख्य चुनौती भनेको सबैलाई व्यवस्थित गर्नु हो। यसो गर्दा कुनै विद्यार्थी छुटे भने त्यसले ठूलो बेफाइदा पुर्याउँछ।
आफ्नो काममा सबैभन्दा मन पर्ने कुरा के हो?
एक-अर्कासँग बोल्ने र कुराकानी गर्ने अवसर नै मलाई सबैभन्दा मन पर्छ।
फोन कल र आगन्तुक एकैसाथ आउँदा कसरी सम्हाल्नुहुन्छ?
यताउता हिँडिरहनुपर्ने भएकाले त्यस्तो बेला अलिकति गाह्रो हुन्छ। तर यहाँ बसेर समय व्यवस्थापन गर्दा कसको कतिखेर कल आएको छ, मैले कतिखेर कल गरेको छु र के कारणले गरेको हो, त्यो पनि हेरिरहन्छु।
यो कामबाट के-के सिक्नुभयो?
म पूर्ण रूपमा व्यवस्थित भइसकेको त छैन, तर यहाँ बसेर कसरी व्यवस्थित हुने र कसरी समय मिलाउने भन्ने कुरा बिस्तारै-बिस्तारै सिक्दै छु।
आफ्नो काम गर्दा कस्तो अनुभव हुन्छ?
सधैँ राम्रो अनुभव हुन्छ। तर अझै अलिकति राम्रो गर्न सकूँ जस्तो लाग्छ।
यो क्षेत्रमा काम गर्न चाहने विद्यार्थीलाई के सुझाव दिनुहुन्छ?
यदि तिमी तनाव र चिन्तामा रहन्छौ भने यो काम नगर्दा नै राम्रो। तिमीलाई धेरै स्वतन्त्रता चाहिन्छ भने पनि यो काम नगर्दा हुन्छ, किनभने यहाँ निरन्तर ध्यान दिइरहनुपर्छ। थोरै मात्र ध्यान चुक्यो भने पनि काम बिग्रिहाल्छ।


प्रतिकृया दिनुहोस्