माधव नेपालले एमालेका नेता कार्यकर्तालाई अपहरण गरी लगेर रिसाेर्टमा थुने:ओली

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नहोस् भन्नका लागि १४ जना सांसदलाई कारबाही गरिएको बताएका छन्।
तर सभामुख अग्नि सापकोटाको अलोकतान्त्रिक गतिविधिका कारण विभाजन रोक्न नसकिएको उनले बताए।
१४ जना सांसदलाई कारबाही भएको सूचना संसद सचिवालयले टाँस गरेको भए एमाले विभाजनका लागि चाहिने प्रतिशत नपुग्ने ओलीको दाबी छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘एमाले पार्टी नफुटोस् भनेर १४ जनालाई कारबाही गरिएको हो। प्रतिशत नपुगेपछि पार्टी फुट्दैन। तर त्यसलाई गोप्य राख्ने काम गरेर सभामुखले अलोकतान्त्रिक काम गर्नुभो।’
ओलीले माधवकुमार नेपालले एमालेका नेता कार्यकर्तालाई अपहरण गरेकाे आराेप पनि लगाए। रिसाेर्टमा नेताहरुलाई थुनेर अपहरणकारी काम भएको उनले बताए।
अपहरणकाे घटनालाई मिडियाले बैठक भनेर लेखेकाे भन्दै ओलीले सञ्चार माध्यमहरुप्रति पनि असन्तुष्टि जनाए।
‘बैठक भैरहेको छ रे। कुन कमिटीको बैठक भयो त्यहाँ? पार्टीका साधारण सदस्यदेखि लिएर आफूलाई अध्यक्षसम्म भनेका मान्छे त्यहाँ छन्। घेराबन्दी गरियो। घरघरबाट तानियो। बाध्य पारियो । फकाइ फकाइकन लगेर मिठै खान दिएर राम्रो बेडमा सुताएकाे भए पनि त्याे अपहरण नै हुन्छ। पिँजडामा थुनिएको कुरा हो’, ओलीले भने।
ओलीले एमाले फुटाउनकै लागि सरकारले अध्यादेश जारी गरेको बताए। उनले विगतमा आफूले ल्याएको अध्यादेश र अहिले देउवा सरकारले ल्याएको अध्यादेशमा फरक रहेको बताए।
‘म प्रधानमन्त्री हुँदा पनि अध्यादेश आएको थियो। तर १२ बजे राति चलिरहेको अधिवेशन अचानक अन्त्य गर्ने, धोकापूर्ण ढंगले भोलिपल्ट बिहानै अध्यादेश जारी गर्ने काम मेरो सरकारले गरेको थिएन’, ओलीले भने।
उनले आफूले कुनै पार्टी विशेषलाई फुटाउन अध्यादेश नल्याएकाे दाबी गरे।
‘त्यतीबेला कुनै पनि पार्टीमा भयानक गुटबन्दी थिएन। फ्लाेर क्रस गर्ने काम पनि भएकाे थिएन। पार्टीभित्र असाधारण र असामान्य अवस्था कतै थिएन। सामान्य विवाद बाहेक अरु थिएन’, ओलीले भने, ‘संविधानकाे कार्यान्वयनका लागि अध्यादेश ल्याएकाे थिएँ।’
‘संघीय संसदमा ४० प्रतिशत पुर्याएर अलग हुन पाउने संविधानले मानेको कुरा हो। फुटको खेती लगातार नहोस् भन्नका लागि याे ठिक हाे तर बाटोमा हिँड्दै गर्दा मान्छे थप्दै जाने १५० छ भने १५०० केन्द्रीय सदस्य पुर्याइदिने अवस्थामा ४० प्रतिशत कसरी पुग्छ? त्यसकारण वा राखिएकाे थियाे संविधानको मर्म अनुसार’, ओलीले अगाडि भने, सांसदकाे स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनका लागि अध्यादेश ल्याइएको थियो। तर उधुम विरोध भयो, अहिले त्यस्तो स्थिति हो र?’
अध्यादेश जारी गर्नु आफैमा असंवैधानिक काम नरहेकाे ओलीकाे भनाइ थियाे।
‘सदन बन्द भएका बेला, विघटन भएका बेला देश र जनताका लागि अध्यादेशबाट कानुन बनाउन सकिन्छ’, ओलीले भने, ‘तर अहिले देश र जनताका लागि हैन, कुनै व्यक्ति र समूहका लागि अध्यादेश ल्याउने काम भयाे। अहिले देश र जनताका लागि अध्यादेश ल्याउन त्यस्तो के पर्यो?’
ओलीले कति प्रतिशत पुग्यो भने एमाले फुटाउन सकिन्छ भनेर पटक पटक साेधेर अध्यादेश ल्याइएको बताए।
‘माधव नेपाललाई जति चाहिन्छ त्यति संख्या भए पुग्ने भनेर लेखेको भए हुन्थ्यो, दुवैतिर पुगे र नपुगे वा तर त्यसमा किन अल्मलिनुभयो थाहा छैन,’ ओलीले भने, ‘माधव नेपालले पार्टी फुटाएपछि स्वतः निस्क्रिय हुन्छ भन्ने पनि छुट्यो। उहाँहरुले अध्यादेशले आफ्नै पार्टीमा पहिराे जान्छ कि भनेर पनि थर्कमान हुनुहुन्छ।’
अध्यादेशबारे प्रचण्डले गरेकाे टिप्पणी सही रहेकाे पनि ओलीले बताए।
पहिले र अहिलेकाे अध्यादेश उस्तै हैन भनेर प्रचण्डले सही भन्नुभाे’, ओलीले भने, ‘ उस्तै हैन सही हो। यो फरक छ। पहिले देशकाे हितमा अध्यादेश आएकाे थियाे अहिले एमाले फुटाउन अध्यादेश आयाे।’
देश जाेगाउन अध्यादेश आएकाे भनेर चर्चा गरिएकाेमा आपत्ति जनाउँदै ओलीले भने, ‘अध्यादेश नआएको भए देश के हुन्थ्यो? एमाले फुटाउन नपाएको भए देश के हुन्थ्यो? यो बरफको डल्लो हो? करकल्लाको पातको पानी हो ? के हो? खवर देशसन्चार अनलाइनमा प्रकाशित छ ।
प्रतिकृया दिनुहोस्