आज जनै पूर्णिमाः पशुपति चहलपहल

आज जनै पूर्णिमाः पशुपति चहलपहल

काठमाडौँ । आज श्रावण शुक्लपूर्णिमा अर्थात् रक्षा बन्धन तथा जनै पूर्णिमा पर्व देशभर मनाइएको छ । जनै पूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट नाडीमा रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ ।

आज बिहान पशुपति क्षेत्रमा गएर स्नान गर्ने, पुरानो जनै हटाएर नयाँ जनै लगाउने तथा नाडीमा डोरो बाँध्ने र बाँधिदिनेहरुको चहलपहल छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो र जनै लगाउँदा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षा बन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षा सूत्र, रक्षा बन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा छ ।

लोकप्रिय