आदिकवि भानुभक्त आचार्यको २१३ औं तथा विख्यात रुसी सोभियत कवि भ्लादिमिर मायाकोभ्स्कीको १३३ औ जयन्तीमा काव्यिक साँझ

आदिकवि भानुभक्त आचार्यको २१३ औं तथा विख्यात रुसी सोभियत कवि भ्लादिमिर मायाकोभ्स्कीको १३३ औ जयन्तीमा काव्यिक साँझ

धनबहादुर मगर/वैरागी जेठा
काठमाडौं, साउन १, नेपाल रुस साहित्य समाज र रुसी भवन काठमाडौंको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१३ औं तथा विख्यात रुसी सोभियत कवि भ्लादिमिर मायाकोभ्स्कीको १३३ औ जयन्तीको अवसरमा साहित्यिक काव्यिक साँझ सम्पन्न भएको छ ।
कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै रुसी सदनकी निर्देशक अनास्तासिया खोख्लोभाले साहित्यले हाम्रा दुई देशलाई आज एउटै मञ्चमा ल्याएको बताइन् । खोख्लोभाले भनिन् ‘‘नेपाल र रुसबीच मित्रता, सांस्कृतिक आदानप्रदान र पारस्परिक समझदारीको पुलको रूपमा साहित्यले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् ।’’ नेरुसासका महासचिव रामविन्दु श्रेष्ठले भानुभक्त र मायाकोभ्स्कीको बारे छोटो प्रकाश पार्दै ती युगमा तिनका भूमिका र सान्दर्भिकता बारे विस्तार गरे ।
कार्यक्रमको पहिलो भानुभक्तिय खण्डमा कविहरू किरण दर्नाल, चैतन्य प्रकाश प्रधान, लक्ष्मी गौडेल, जेठा वैरागी, खेम कोइराला बन्धु, कृष्ण जस्ताघरे, चेवन बस्नेत, शीव आचार्यले नेपाली कविताहरू वाचन गरेका थिए ।
दोस्रो मायााकोभ्स्कीय सत्रमा निर्देशक अनास्तासिया खोख्लोभाले रुसी र कवयत्री शकुन्तला जोशी र विष्णु बहादुर सिंहले नेपाली भाषामा मायाकोभ्स्कीका कविताहरू वाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि दायित्व वाङ्गमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले ३५ वर्ष अघिको कार्यक्रमहरूलाई सम्झिदै भने, ‘‘यो हलले मलाई कवि बनाएको हो ।’’ भानुभक्त र मायाकोभ्स्कीको डेढसय वर्ष अघिको कविता मूलतः रुसी परिवर्तन पक्षमा उभिएको समकालीन बलियो कवि रहेको बताए ।
सभापतिको आसनबाट नेरुसासका अध्यक्ष ई.विष्णु बहादुर सिंहले भानुभक्तले भाषासाहित्यको माध्यामबाट नेपालको राष्ट्रिय पहिचानलाई सुदृढ बनाएका बताउनु भयो । सिंहले मायाकोभ्स्कीको “सुन्नु होस ! यदि आकाशमा ताराहरु बलिरहेका छन् भने यसको अर्थ कोही छ जसलाई यसको आवश्यकता छ ।” भन्ने कवितांश वाचन गर्नु भएको थियो ।
भ्लादिमिर मायाकोभ्स्की रूसका महान् कवि, नाटककार, कलाकार तथा रुसी भविष्यवादी
(फ्युचरिस्ट) आन्दोलनका प्रमुख अगुवा थिए । आफ्नो नवीन काव्यशैली, प्रभावशाली कविता वाचन तथा क्रान्तिकारी चेतनाका कारण उनी विसौं शताब्दीका रुसी साहित्यका प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्छन् ।
विभिन्न क्षेत्रमा कार्यरत लेखक, कलाकार, विद्यार्थी र साहित्यकारहरूको जमघटले कार्यक्रम भव्य र सभ्य भएको थियो ।
नेपाल रुस साहित्य समाज (नेरुसास)का उपाध्यक्ष ई.चन्द्रकान्त आचार्यको स्वागत भाषणसँगै शुरु भएको उक्त कार्यक्रमको सञ्चालन रुसी साँस्कृतिक केन्द्र पुस्तकालयकी प्रमुख भावना न्यौपानेले गरेकी थिइन् ।

लोकप्रिय