४७८ औं साहित्य सन्ध्या श्रँृखलामा ‘‘अष्टावक्र महागीतामृत’’को विमोचन, सहित ‘‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’’माथि परिचर्चा
धनबहादुर मगर/वैरागी जेठा
काठमाडौं, साउन १, साहित्य सन्ध्याको ४७८ औं नियमित मासिक श्रृँखलामा ‘‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’’ विषयमा विशेष चर्चा गरिनुका साथै ‘‘अष्टावक्र महागीतामृत’’ कृतिको परिचर्चाका साथ विशेष कविगोष्ठीको आयोजना सम्पन्न भएको छ ।
आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौंको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४७८ औं विशेष श्रृँखलामा ‘‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’’ विषयमा विशद चर्चा गरिनुका साथै साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जित ‘‘अष्टावक्र महागीतामृत’’ कृतिको परिचर्चाकासाथ कवि गोष्ठीको आयोजना गरिएको हो ।
साहित्य सन्ध्या ४७८ औं श्रँृखलाका प्रमुख अतिथि राष्ट्रिय पूर्व योजना आयोगका उपाध्यक्ष, पूर्व गभर्नर एवम् अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले ‘‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’’ विषयमा विशद चर्चा गर्नुुहुँदै साहित्य सन्ध्याको विशेष कार्यक्रममा उपस्थित भएर सिर्जना सुन्ने र ‘‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’’ जस्तो अत्यन्त समसामयिक विषयमा आफ्ना धारणा राख्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए ।
क्षेत्रीले यथार्थमा जीवनसँग नजोडिएको साहित्य, साहित्य हुन सक्तैन । इमानका साथ जीवन घोट्ने कुनै पनि व्यक्ति होस् वा बसमा पकेट मार्ने नै किन नहुन् सबै पैसाकै लागि काम गर्छन् । रोजगारीका लागि पराया भूमिमा जीवन घोटिरहेका नेपालीहरू आयआर्जनकै लागि पसिना बगाइरहेका छन् ।
विशेष अतिथि प्रा.जगतप्रसाद उपाध्याय ‘‘प्रेक्षित’’ले साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जित ‘‘अष्टावक्र महागीतामृत’’ कृतिको परिचर्चा गर्नुहुँदै साहित्य सन्ध्याले दर्शनसँग सम्बन्धित रहेको पौराणिक कृतिका बारेमा परिचर्चा गर्ने कार्यक्रम प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
वाचित रचनामाथि समालोचक तथा टिप्पणीकार प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले लामो इतिहास बनाएको साहित्य सन्ध्याको आजको यो विशेष समारोहमा परिचर्चा गरिएको विषय र सुनाइएका कविता समसामयिक रहेका छन् । शास्त्रीय छन्दका सातओटा, झ्याउरे लयका तीनओटा, सवाइका दुइटा, एउटा गीत, एउटा मुक्तक र बाँकी गद्यलयका सिर्जना वाचित भएका छन् । विषयवस्तुका दृष्टिले देश, भाषा, साहित्यको निर्माणमा विशेष योगदान गर्नेहरूप्रति सम्मानभाव व्यक्त गरिएको छ । कवितामा नेपाली समाजको यथार्थ वर्तमानलाई चित्रण गरिएको छ । भदौ २३ र २४ को घटनाले मुलुकलाई पारेको प्रभावलाई चित्रण गरिएका र आक्रोश व्यक्त गरिएका समेत कविता वाचित भएका छन् ।
विशिष्ट अतिथिको रूपमा साहित्य सन्ध्याका सल्लाहकार प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’को उपस्थिति रहेको थियो । अतिथिहरूमा माधव प्रधान, डा.फणीन्द्रराज निरौला, प्राज्ञ नर्मदेश्वरी सत्याल, डा.गोविन्दप्रसाद आचार्य, साहित्यकार सुमी लोहनी, डा.कृष्ण सुवेदी, डा.रूपनारायण श्रेष्ठ, गायत्रीकुमार चापागाईँ, कृष्ण बाउसे, ओमप्रसाद कोइराला, महेशराज खरेललगायतको उपस्थिति रहेको थियो ।
साहित्य सन्ध्या कार्यक्रममा ओमप्रसाद कोइराला, नर्मदेश्वरी सत्याल, गायत्रीकुमार चापागाईँ, डा.रूपनारयण श्रेष्ठ, महेशराज खरेल, राजन आचार्य, लक्ष्मण तिमल्सिना, चेवन बस्नेत, पोष चापागाईं, कृष्ण बाउसे, शान्ता दाहाल, कृष्णप्रसाद पौडेल जस्ताघरे, कुमार नेपाल, डा.मनोज जोशी, माधव प्रधान, नवराज श्रेष्ठ, डा.गोविन्दप्रसाद आचार्य, जमुना आचार्य, शिवप्रसाद आचार्य, दिनेशराज खरेल, वैरागी जेठा, लीलाराज दाहाल, बलराम विष्ट, केदारनाथ आचार्य, एम.पी.पाण्डे र प्रमोद भण्डारीले आआफ्ना कविता, गीत, गजल, मुक्तक वाचन गर्नुभएको थियो ।
उक्त ४७८ औं मासिक श्रृँखला साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनले सञ्चालन गरेका थिए ।


प्रतिकृया दिनुहोस्