देउवा–प्रचण्डबीच असहमति कायमै
काठमाडौं । प्रतिनिध सभाको बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक पुनः बस्न लागेको हो । यसै विषयलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवा र सत्तारुढ कै दोस्रो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति हुन सकेको छैन । देउवाले सत्तारुढ सबै दललाई एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका भएपनि माओवादीका अध्यक्ष दाहालले सहयोग गर्न नसक्ने बताएका छन् ।
आजको बैठको मुख्य एजेण्डा अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । सम्भावित कार्यसूची अनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ।
गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए । एमसीसीबारे छलफल सुरु हुने भएकोले नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइसकेको छ ।
एमसीसी सम्झौता पारित गर्न संसदमा टेबल भए पनि सत्ता साझेदार दलहरू अझै पनि एकमत भएका छैनन् । साझेदार दलसँग एमसीसीबारे मत विभाजित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसित पनि छलफल गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस्