नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा.बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गर्नु भएको छ ।
काठमाडौंमा जारी पार्टीको प्रथम महाधिवेशनमा संयोजक भट्टराईले आफू नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न चाहेको बताउनुभएको हो ।
महाधिवेशनको उद्घाटन सत्रपछि सोमबार बिहान बसेको सचिवालय बैठकमा भट्टराईले तेस्रो पुस्तालाई नेतृत्व हस्तान्त्रण गरेर आफु वैचारिक नेताको भूमिकामा बस्ने निर्णय गर्नुभएको थियो ।
सचिवालय बैठकमा अधिकांश नेताहरूले वैकल्पिक शक्तिहरू ध्रुवीकरणको क्रममा नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न प्रस्ताव गरेपछि भट्टराई अध्यक्षमा उम्मेदवारी दिन तयार भएको पार्टीका एक नेताले जानकारी दिएका छन् ।आइतबारबाट काठमाडौंमा सुरु भएको महाधिवेशन मंगलबारसम्म चल्नेछ । उद्घाटन सत्र सकिएपछि आइतबार नै बन्दसत्रको कार्यक्रम सुरु भएको छ ।
आइतबार नै प्रथम महाधिवेशनमा आयोजक कमिटी भंग गरेर पाँच सदस्य अध्यक्ष मण्डल चयन गरिएको छ । अध्यक्ष मण्डलमा भक्तबहादुर शाह, दुर्गा सोब, सिर्जना रिजाल, महेन्द्र श्रेष्ठ र चिनक कुर्मी रहेका छन् । यो अध्यक्ष मण्डलले महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि छलफल गराएर निष्कर्ष निकाल्नेदेखि नयाँ नेतृत्व चयन सम्मको कार्य पूरा गर्नेछ ।
सातवटा समूहमा राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमा छलफलपछि आज रिपोर्टिङको एजेन्डा रहेको छ । महाधिवेशनले अध्यक्ष, पाँच उपाध्यक्ष (एक महिला, एक जनजाति, एक मधेशी, एक खसआर्य र एक दलित), महासचिव, तीन सचिव र कोषाध्यक्ष सँगै ९९ सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्नेछ ।
प्रतिकृया दिनुहोस्