विद्यालयलाई उद्यमशिलतामा जोड्दै फेदीखोला

विद्यालयलाई उद्यमशिलतामा जोड्दै फेदीखोला

स्याङजा । स्याङजाको फेदीखोला गाउँपालिकाले ‘एक विद्यालय अनिवार्य एक उद्यम कार्यक्रम’ मार्फत युवा विद्यार्थीहरुलाई उद्यमशिलतामा जोड्दै गएको छ ।

गाउँपालिका वडा नं २ स्थित सञ्चालित महेन्द्र जनसहयोग आधारभूत विद्यालयले विद्यार्थीलाई व्यावहारिक शिक्षामा जोड्दै उद्यमशीलता सिकाउने अभियान स्वरूप कार्यक्रम शुभारम्भ गरेको छ । फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको सहभागितामा सुरुवात भएको कार्यक्रममा विद्यार्थीहरुले एकदमै चासो देखाएका छन् ।

विद्यालयले हप्ताको एक दिन विद्यार्थीलाई किताब नल्याउने र व्यावहारिक सीप सिकाउने बताएको छ । आफ्नै स्थानिय तहमा उत्पादित र उपलब्ध कच्चा पदार्थ हरुको अत्याधिक प्रगोग गरी दुना, टपरी,कृषि जन्य उत्पादन तथा बाटेको धूप बनाउने सिकाउने बताइएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सुवेदीले आफूले नै धूप बनाएर जलाएर, बनाउने अभ्यास गरेका विद्यार्थीलाई हौसला र उत्साह प्रदान गरेका छन् । उनले उद्यमशिलता कार्यक्रमलाई एकदमै प्रभावकारी ढंगले सबै विद्यालयमा लागु गर्ने अघि बढाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

हरेक विद्यालयहरुलाई एउटा एउटा उद्यममा जोड्ने गरी कार्यक्रम ल्याउने र विद्यालय सुधार योजनामा हरेक विद्यालयले उद्यमलाई समेटेर राख्नुपर्ने र गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

गाउँपालिकाको कार्यपालिकाको बैठकले नै अब हरेक विद्यालयलाई उद्यममा जोड्ने गरी कार्यक्रम अगी बढाउने निर्णय गरेको छ ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उजुर बहादुर के सी, सिद्दार्थ माध्यमिक विद्यालय वि व्य स अध्यक्ष नेत्र बहादुर कार्की, सफल उद्यमी कृषि व्यवसायी विष्णु प्रसाद पोख्रेल लगायत अन्य सदस्य, विद्यार्थी, शिक्षक र विद्यार्थीहरुको उल्लेखनिय रुपमा उपस्थिति रहेको थियो ।

लोकप्रिय