मध्यपुर थिमि नगरपालिकाद्वारा करदातालाई विभिन्न करमा छुट, असोज मसान्तसम्म लाभ लिन आग्रह
भक्तपुर। मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न कर तथा शुल्कमा छुटको व्यवस्था गरेको छ। नगरपालिकाले असोज मसान्तभित्र कर तिर्ने करदातालाई विशेष छुट उपलब्ध गराउँदै समयमै कर बुझाएर सुविधाको लाभ लिन आग्रह गरेको छ।
नगरपालिकाले लामो समयदेखि सञ्चालनमा रहेका तर व्यवसाय दर्ता नगरेका व्यवसायीलाई दर्ता गर्दा आर्थिक वर्ष २०७४/०७५ लाई आधार वर्ष मानी सोभन्दा अगाडिको सबै व्यवसाय कर छुट दिने व्यवस्था गरेको छ।
त्यस्तै, नयाँ व्यवसाय दर्ता गर्दा असोज मसान्तभित्र दर्ता गरेमा आर्थिक वर्ष २०७४/०७५ देखि अघिल्लो आर्थिक वर्ष २०८२/०८३ सम्म लाग्ने व्यवसाय कर र बहाल करमा ५० प्रतिशत छुट दिइनेछ। उक्त अवधिमा लाग्ने जरिवानासमेत मिनाहा गरिने नगरपालिकाले जनाएको छ।
व्यवसाय नवीकरणमा १० प्रतिशत छुट
व्यवसाय दर्ता भई नवीकरण गर्न बाँकी रहेका व्यवसायीले असोज मसान्तभित्र नवीकरण गरेमा हालसम्म लागेको सम्पूर्ण जरिवाना छुट पाउनेछन्। साथै, चालु आर्थिक वर्षको व्यवसाय करमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
त्यसैगरी, असोज मसान्तभित्र सम्पत्ति कर तिर्ने करदातालाई चालु आर्थिक वर्षको सम्पत्ति करमा १० प्रतिशत छुट दिइनेछ। चालु आर्थिक वर्ष २०८३/०८४ मा लाग्ने सम्पूर्ण बहाल कर एकमुष्ट अग्रिम रूपमा बुझाएमा पनि १० प्रतिशत छुट पाइने नगरपालिकाले जनाएको छ।
कर तिर्दा आवश्यक कागजात लैजान आग्रह
नगरपालिकाले यसै आर्थिक वर्षदेखि नेपाल सरकारले निर्माण गरी उपलब्ध गराएको सूत्र राजस्व प्रणालीमार्फत कर संकलन सुरु गरेको जनाएको छ। करदाता विवरण अद्यावधिक गर्नुपर्ने भएकाले कर तिर्न जाँदा पहिले कर तिरेको रसिद, जग्गाधनी पुर्जा, घर भए भवन निर्माण इजाजतपत्र वा निर्माण सम्पन्न प्रमाणपत्र तथा नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि साथमा लैजान नगरपालिकाले अनुरोध गरेको छ।
नगरपालिकाले समयमै कर तिरी उपलब्ध छुट तथा सहुलियतको लाभ लिन र नगरको विकास तथा समृद्धिमा योगदान पुर्याउन सम्पूर्ण करदातालाई आग्रह गरेको उपप्रमुख बिजय कृष्ण श्रेष्ठले बताएका छन् ।

लेखकको सम्वन्धमा