माता इन्द्रायणी सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न, ३८ विद्यार्थी सम्मानित
माता इन्द्रायणी सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न, ३८ विद्यार्थी सम्मानित
शंखरापुर, काठमाडौं, असोज २५। माता इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा आइतबार शंखरापुर नगरपालिका–६ स्थित देवी फरेस्ट रिसोर्टमा सम्पन्न भएको छ। साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा भावी कार्ययोजनाबारे छलफल गर्नुका साथै एसईई र कक्षा १२ उत्तीर्ण विद्यार्थी तथा उत्कृष्ट सदस्यहरूलाई सम्मान गरिएको छ।
सभापति तथा कार्यक्रम संयोजक विकास थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारीका संस्थापक रोबर्ट ओवेन, बचत तथा ऋण सहकारीका संस्थापक राइफाइसन तथा नेपालमा सहकारीका संस्थापक बखान सिंह गुरुङको तस्बिरमा माल्यार्पण गरी दीप प्रज्ज्वलनसहित कार्यक्रमको उद्घाटन गरिएको थियो। त्यसपछि राष्ट्रिय गान र सहकारी गान प्रस्तुत गरिएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष शशि कुमार सिलवाल, सञ्चालक समितिका पदाधिकारी, कर्मचारी, बचतकर्ता, सेयर सदस्य, अतिथि तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। लेखा सुपरिवेक्षण समितिका संयोजक इच्छाराम थापा र सचिव लवध्वज कार्कीले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति सदस्य तथा कार्यक्रम सहसंयोजक विद्यामान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन अध्यक्ष शशि कुमार सिलवालले प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक इच्छाराम थापाले प्रस्तुत गरेका थिए। संस्थाका प्रबन्धक राम सिलवालले सहकारीको प्रगति, भावी कार्यदिशा, कार्ययोजना तथा विद्यार्थी सम्मान कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए।

सभामा अध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनलगायत विभिन्न विषयमा छलफल गरी प्रस्तुत प्रतिवेदन तथा प्रस्तावहरू सर्वसम्मतिले अनुमोदन र पारित गरिएको आयोजकले जनाएको छ।
साधारणसभाको अवसरमा संस्थाका तीन जना उत्कृष्ट सदस्यसहित एसईई २०८२ उत्तीर्ण सेयर सदस्यका सन्ततिमध्ये १९ जना र कक्षा १२ उत्तीर्ण १९ जना विद्यार्थीलाई सम्मान गरिएको थियो। सम्मानित विद्यार्थी तथा सदस्यहरूलाई टीका, खादा र मायाको चिनो प्रदान गरिएको थियो।
एसईईतर्फ उत्कृष्ट छात्रका रूपमा सतीश थापा र उत्कृष्ट छात्राका रूपमा जश्मिन श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो। त्यसैगरी, कक्षा १२ तर्फ उत्कृष्ट छात्र कृशल श्रेष्ठ र उत्कृष्ट छात्रा भाव्या सिलवाललाई विशेष सम्मान प्रदान गरिएको थियो।
विद्यार्थी तथा उत्कृष्ट सदस्यहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक उत्कृष्ट सदस्यलाई १५ कित्ता सेयर र सम्मानित प्रत्येक विद्यार्थीलाई १० कित्ता सेयर प्रोत्साहन पुरस्कारस्वरूप प्रदान गर्ने निर्णयसमेत घोषणा गरिएको थियो।

सम्मानित विद्यार्थी शुभारम्भ थापाले कार्यक्रममा आफ्नो धारणा राख्दै सम्मानप्रति खुसी व्यक्त गरेका थिए। विद्यार्थीलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले उनीहरूको शैक्षिक यात्रामा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण महानुभाव, सम्मानित विद्यार्थी तथा कार्यक्रमस्थल उपलब्ध गराउने देवी फरेस्ट रिसोर्टप्रति धन्यवाद व्यक्त गरिएको थियो। साथै, विजया दशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै साधारणसभा समापन गरिएको थियो।
माता इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले साधारणसभामार्फत संस्थागत प्रगतिको समीक्षा गर्नुका साथै सदस्य तथा तिनका सन्ततिलाई सम्मान र प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ।

लेखकको सम्वन्धमा