महँगी, कालोबजारी र उपभोक्ता ठगी नियन्त्रण गर्न अनेरास्ववियू (क्रान्तिकारी) को माग

महँगी, कालोबजारी र उपभोक्ता ठगी नियन्त्रण गर्न अनेरास्ववियू (क्रान्तिकारी) को माग

भक्तपुर — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), भक्तपुर जिल्ला समितिले बजारमा बढ्दो महँगी, कालोबजारी, कृत्रिम अभाव, अनुचित मूल्यवृद्धि तथा उपभोक्ता ठगी नियन्त्रण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएको छ।

विद्यार्थी संगठनले निःशुल्क शिक्षा र स्वास्थ्यको सुनिश्चितता, महँगी तथा कालोबजारी नियन्त्रण र समाजमा विद्यमान विकृति–विसङ्गति न्यूनीकरणका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेको हो।

ज्ञापनपत्रमा लागूऔषध दुरुपयोग, अवैध जुवातास तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न, सार्वजनिक स्थलमा हुने विकृति रोक्न र महिला तथा बालबालिकामाथि हुने हिंसा, शोषण तथा दुर्व्यवहार अन्त्य गर्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन पनि माग गरिएको छ।

त्यस्तै, चाडपर्वका बेला खाद्यवस्तुमा हुने मिसावट, म्याद गुज्रिएका सामग्रीको बिक्री तथा उपभोक्ताको अधिकारमाथि हुने हस्तक्षेप रोक्न सम्बन्धित निकायबीच समन्वय गरी नियमित अनुगमन र कानुनी कारबाहीलाई तीव्रता दिनुपर्ने संगठनको माग छ।

अनेरास्ववियू (क्रान्तिकारी) भक्तपुर जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सम्बन्धित निकायसँग समन्वय गरी ज्ञापनपत्रमा उल्लेखित मागहरू तत्काल सम्बोधन गर्न आग्रह गरेको छ। संगठनले आम नागरिकको जनजीविका, सामाजिक न्याय र उपभोक्ता अधिकारको संरक्षणका लागि निरन्तर आवाज उठाउँदै आएको भक्तपुरका इन्चार्ज प्रदिप तजले बताएका छन् ।

लोकप्रिय