नारायणगढ–बुटवल सडकखण्डमा धुलोले बेहालः ठेक्का सम्झौताको ६ बर्ष बित्दा पनि पाएन निर्माण कार्यले पूर्णता

नारायणगढ–बुटवल सडकखण्डमा धुलोले बेहालः ठेक्का सम्झौताको ६ बर्ष बित्दा पनि पाएन निर्माण कार्यले पूर्णता

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माण कामले आवत जावत्मा एकदमै सकस बनाएको छ । कतिपय क्षेत्रमा सडकको एकलेन बन्द अवस्थामा रहेको छ भने खुला भएको लेन पनि कच्ची सडकमा परिर्णत भएका कारण यात्रा गर्दा एकदमै सकसपूर्ण भइरहेको छ । देशकै अति महत्वपूर्ण सडक अहिले घाम लाग्दा धुले र पानी पर्दा हिले सडकमा परिर्णत भएको छ । नारायणगढबाट बुटवलको दुरि ११९ किलोमिटर भएपनि खराब सडकका कारण एक दिन भर नै लाग्ने गरेको यात्रुहरुको गुनासो छ ।

हजारौँ सवारी साधनहरु घण्टौँ सम्म जाममा अड्कीन बाध्य छन् । भने यात्रुले समयमै गन्तव्य स्थलमा पुग्न सकेका छैनन् । अधिकांश बाटो कच्ची त्यसमा पनि बाक्लो सवारी साधनको जाममा यात्रा गर्न एकदमै सकसपूर्ण हुने गरेको देवु रानाले बताइन् । भर्खरै बुटवल नारायणगढ हुँदै काठमाडौँ आएकी उनले बाटोको धुलोको कारणले रुगा, खोकीले सताएको बताइन् । ‘बाटो निर्माणको क्रममा छ । त्यसमा पनि कतिपय क्षेत्रमा एकदमै राम्रो अवस्थामा छ भने कतिपय क्षेत्रमा एकदमै नराम्रो छ । गाडीको ठूलो जाम हुने त्यो क्षेत्रमा साना सवारी साधनलाई त त्रसित हुँदै यात्रा गर्नुपर्ने बाध्यता छ ।’

पानी नपर्दा धुले सडकमा परिर्णत भएको उक्त क्षेत्रमा बर्षायाममा समेत हिलोले सकस हुने गरेको छ । यात्रा गर्दा बाटोको जामका कारण काठमाडौँ आउन २ दिन पुरा लाग्ने सुर्खेत देखि काठमाडौँ आएका भरम भण्डारीले दुखेसो पोखे । हाल उक्त सडक निर्माण भइरहे पनि सडक निर्माणले तिव्रता पाउन सकेको छैन् । यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले सडकखण्ड विस्तारको काम आउँदो मंसिर भित्र सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन् । उनले सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुग्ने बताएका छन् । प्रधानमन्त्री ओलीले आउँदो मंसिरभित्र काम सुरु नभएमा बाध्यतावस ठेक्का तोड्नुको विकल्प नहुने बताएको उनको सचिवालयले जनाएको छ ।

उनले विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्ने बताए । पूर्वी नवलपरासीको जिल्ला समन्वय समिति प्रमुख भगौती यादव रुदलले निर्माण कार्यमा लापरवाही भएको भन्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । उनले निर्माणको जिम्मा पाएको कम्पनीलाई काम छिटो सक्न कडा निर्देशन दिनुपर्ने बताए ।

चाइनास्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्ममा काम सुरु गर्ने आश्वासन प्राप्त भएको बताएका छन् । सडक समयमै निर्माण नभए पनि स्थानीले पनि विरोध सुरु गरेका छन् । उनीहरुले स्थानीय तह, प्रदेश सरकार र संघ सरकार मार्फत ध्यानाकर्षण गर्ने, विरोधका कार्यक्रमहरु अघि बढाइरहेका छन् ।

लोकप्रिय