सुशासनमार्फत् मुलुकमा समृद्धि ल्याउन सरकार प्रतिबद्ध: सञ्चारमन्त्री

सुशासनमार्फत् मुलुकमा समृद्धि ल्याउन सरकार प्रतिबद्ध: सञ्चारमन्त्री

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सुशासनका माध्यमबाट मुलुकमा समृद्धि ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

लमजुङको बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको ‘प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै मन्त्री गुरुङले सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण जरुरी रहेको बताउनुभयो ।

अहिलेसम्म बिग्रिएका सबै कुराको सुधार गर्दै मुलुकलाई सही दिशातर्फ प्रेरित गर्न सरकार अग्रसर भएको उहाँले बताउनुभयो ।

“हामी आर्थिक सुधार गर्ने चरणमा छौँ,” मन्त्री गुरुङले भन्नुभयो, “यो सरकारले राम्रा काम गरिरहेको छ ।” पुँजीगत खर्च धेरै बढाउने र रोकिएका विकासका कार्य निर्माणमा जोड दिन अहिलेको सरकार केन्द्रित रहेको उहाँले बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले लमजुङ खेलकुद र संस्कृतिका हिसाबले धनी जिल्ला भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको बताउनुभयो ।

देशलाई राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरसम्म चिनाउन खेलकुद अत्यन्त महत्वपूर्ण विधा भएको मन्त्री गुरुङले बताउनुभयो । उहाँले जिल्लामा यस्ता महोत्सवबाट लुकेका प्रतिभा पहिचान गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो । भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत सुधार गर्न जरुरी रहेको मन्त्री गुरुङको भनाइ थियो ।

लोकप्रिय