काभ्रेमा सुरुङमार्ग आयोजनालाई अघि बढाउनुको साथै मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

काभ्रेमा सुरुङमार्ग आयोजनालाई अघि बढाउनुको साथै मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा काभ्रेपलाञ्चोकमा सुरुङमार्ग आयोजनालाई अघि बढाउने घोषणा गरिएको छ। बजेट मन्तव्यमा पौडेलले काभ्रेपलाञ्चोकअन्तर्गत राष्ट्रिय गौरवका आयोजनालगायत अन्य आयोजनालाई बजेट विनियोजन गरिएको घोषणा गरेका हुन्।

प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दोलालाघाटबाट दोलखाको शैलुङ्ग गाउँपालिका–७ को चर्नावतीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने जनाइएको छ। पौडेलले बजेट सार्वजनिक गर्दै काभ्रेपलाञ्चोकको दोलालघाट–चर्नावती सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने घोषणा गरेका हुन्। यससँगै जिल्लामा सुरु भएका दीर्घकालीन महत्वका योजना बजेटको प्राथमिकतामा परेको जनाइएको छ। बजेट वक्तव्यमा जिल्लामा निर्माण भएको सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गरी मुद्रण कार्य प्रारम्भ गरिने उल्लेख छ।

यस्तै मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनको काम अघि बढाउने बजेट वक्तव्यमा उल्लेख छ। यस्तै धुलिखेल अस्पताललाई सेवा तथा गुणस्तर वृद्धि गर्न पुँजीगत अनुदानको व्यवस्था गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

मदन भण्डारी विश्वविद्यालय काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने ‘मास्टर प्लान’ निर्माण सम्पन्न भइसकेको छ। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समितिका अनुसार निर्माण प्रक्रिया अघि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को तयारीमा रहेको छ।

लोकप्रिय