ग्वार्को ओभरपास सञ्चालनमा

ग्वार्को ओभरपास सञ्चालनमा

काठमाडौं । काठमाडौंको ललितपुर ग्वार्कोमा बनाइएको ओभरपास सञ्चालनमा आउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने बताएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

२०७८ फागुन महिनामा कम्पनीले ठेक्का लिएपनि परियोजना तोकेएको समयमा काम सम्पन्न नभएका कारण सम्झौतामा १४ करोड लागत थप भएको थियो । उक्त परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लगाएको छ ।

करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको थियो । तर, काम सम्पन्न भइसक्दा अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ । ग्वार्को चोकस्थित चार लेनको ओभरपास र पहुँचमार्गको योजना, डिजाइन, इञ्जिनियरिङ, खरिद तथा निर्माणकार्य (ईपीसी प्रणालीमा) भएको ठेक्का सम्झौता हो । जसअन्तर्गत डिजाइन र निर्माणको जिम्मेवारी पूर्ण रूपमा निर्माण व्यवसायीमा रहन्छ ।

केन्द्रले २०८० साल फागुन ११ गते ठेक्का दुई वर्षभित्र काम सम्पन्न हुनेगरी आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप गरेको थियो ।

पुनः तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भएको थियो तर, फेरी आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा लगभग एक महिना जति आयोजना निर्माणको काम ठप्प भएको थियो ।

ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि करिब एक करोड ४७ लाख हर्जाना तिराएर निर्माण सम्पन्न गरिएको थियो ।

हाल ओभरपासको संरचना निर्माणको काम सकिएपछि ८ जेठदेखि कालोपत्रको काम सुरु भएको थियो । मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको छ ।

ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ । ५ सय मिटर लामो अप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोबाट र्‍याम बनाइएको छ ।

चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाएर माथि उठाइ ओभरपास बनाइएको हो । मुनिबाट मंगलबजार–इमाडोल जाने सवारीसाधन चल्न सक्ने गरी ओभरपास बनाएको कारण यसबाट ट्राफिक जाम कम हुने अपेक्षा गरीएको छ ।

लोकप्रिय