ललितपुर महानगरको निःशुल्क स्वास्थ्य बिमा

ललितपुर महानगरको निःशुल्क स्वास्थ्य बिमा

ललितपुर । ललितपुर महानगरपालिकाले स्वास्थ्य बिमा बोर्डसँग गरिएको सम्झौतापछि महानगरले प्रिमियम वापत एक करोड रुपैयाँ भुक्तानी गर्दै आफ्नो क्षेत्रभित्र बसोबास गर्ने एकल महिला, सरसफाइकर्मी, टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी), सवारी चालक तथा नगर प्रहरीहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ।

महानगर प्रमुख चिरीबाबु महर्जन र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेबीच सम्झौतामा हस्ताक्षरसँगै महानगरले लाभग्राहीहरूको स्वास्थ्य बिमाको सम्पूर्ण प्रिमियम आफैंले व्यहोर्नेछ ।

महानगरले दुई वर्षअघि पाटन अस्पतालसँगको प्राविधिक सहकार्यमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरीसकेको छ । सहकार्यमा अस्पतालमा बिरामीका लागि अक्सिजन व्यवस्थापनदेखि शव व्यवस्थापनका लागि ‘मर्चरी हाउस’ निर्माणसम्मको सुविधा स्थापना गरिएको महर्जनले बताउँदै स्वास्थ्य सेवा सुलभ बनाउन महानगरले नागरिकको शय्यासम्म सेवा पुर्‍याउने लक्ष्यसाथ काम गरिरहेको बताए ।

स्वास्थ्य केन्द्रमा २१० जनाको क्षमताविरुद्ध ३०० भन्दा बढी सेवाग्राही दैनिक आउने गरेका छन् । महर्जनले यो सम्झौताले थप दायित्व सिर्जना गरेको उल्लेख गर्दै मुलुकका प्रतिष्ठित अस्पतालहरूसँग सहकार्य गरी स्वास्थ्यमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बोर्डका कार्यकारी निर्देशक काफ्लेले ललितपुर महानगरको यो कार्यक्रमले अन्य ७५२ स्थानीय तहलाई पनि प्रेरणा दिने बताए । “स्वास्थ्य बिमा भनेको अब राज्यले खोस्न नसक्ने अधिकार बताउँदै, “ललितपुरको लागि यो पहलले जनताको विश्वास जितेको बताए ।”

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले शव व्यवस्थापनदेखि स्वास्थ्य बिमा अभियानसम्मको समन्वयमा महानगरको भुमिका अत्यन्तै सकारात्मक र सराहनीय रहेको तथा ललितपुर महानगर देशकै नमूना स्थानीय सरकारको रूपमा स्थापित हुँदै गएको बताए ।

लोकप्रिय