गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण

गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण

 

ललितपुर । नेपाली कांग्रेसका सर्वमान्य नेता एवं लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा जावलाखेलस्थित सिंहको पूर्णकदको सालिकमा माल्यार्पण गरिएको छ । गणेशमान सिंह स्मृति प्रतिष्ठान, ललितपुर ५ स्थित मच्छेश्वर उपभोक्ता समितिको आयोजनामा स्मृति दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम मच्छेश्वर उपभोक्ता समितिका अध्यक्ष श्यामकृष्ण कर्मचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गणेशमान सिंह स्मृति प्रतिष्ठान ललितपुरका अध्यक्ष, प्रदेश सांसद एवं बागमती प्रदेश कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
त्यसैगरी कार्यक्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन, ललितपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठ, ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजु महर्जन, नेपाल विद्यार्थी संघ (नेविसंघ) की पूर्व केन्द्रीय सदस्य सुमित्रा घिमिरेलगायत स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले नेपाली लोकतान्त्रिक आन्दोलनमा गणेशमान सिंहले पु¥याएको योगदान, त्याग र नेतृत्वको स्मरण गर्दै सामालिका माल्यार्पण गरेका थिए ।
विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डरका रूपमा गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको थियो । नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले पनि उहाँको २९औँ स्मृति दिवसका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरी स्मरण गरिरहेका छन् ।
नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाका लागि परिचित गणेशमान सिंहले २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह अस्वीकार गर्दै समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंहको विसं २०५४ असोज २ गते निधन भएको थियो। उनी प्रजा परिषद्का सदस्य बनेर राणाशासन अन्त्य गर्ने अभियानमा सक्रिय भएका थिए ।
विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल सिंह भारत पुगेपछि नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्धमा जोडिएका थिए । विसं २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई नेतृत्व प्रदान गरेका उनले प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिमा अगुवाको भूमिका निर्वाह गरेका थिए । वीरगन्ज मोर्चामा उनले सशस्त्र संघर्षको नेतृत्वसमेत सम्हालेका थिए ।
विसं २०१५ को पहिलो आमनिर्वाचनपछि गठन भएको सरकारमा वरिष्ठ मन्त्री बनेका सिंह २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा थुनिएका थिए । विसं २०२५ मा बिपी कोइरालासँगै सुन्दरीजलबाट रिहा भएपछि उनले प्रवासमा पुगेर राजनीतिक संगठन विस्तारमा सक्रियता देखाए ।
विसं २०३३ मा बिपी कोइरालासँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका सिंह त्यसपछि निरन्तर पञ्चायती व्यवस्थाविरुद्धको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहे ।
नेपाली लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्व सिंहको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमले उहाँको योगदान, संघर्ष र लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई स्मरण गर्दै नयाँ पुस्तालाई उहाँको राजनीतिक जीवन र आदर्शबारे जानकारी गराउने उद्देश्यसमेत बोकेको आयोजक पक्षले जनाएको छ ।

लोकप्रिय