जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

 

काठमाडौं । गायिका जुनु प्रसाईको नयाँ गीत झगडा पर्यो पोइसित’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा गायिका प्रसाईसँगै चर्चित कलाकार प्रकाश सपुतको अभिनय रहेको छ।

पूर्वेली लोकलयमा आधारित गीतमा आधुनिक प्रस्तुतिसँगै लोकसंस्कृतिको स्वाद समेटिएको छ। गीत तथा भिडियोमार्फत आफ्नो माटो, जन्मभूमि र सांस्कृतिक पहिचानलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ।

गीतमा विदुर तिमल्सिना ‘देवदूत’ को शब्द तथा राज सागरको संगीत रहेको छ। गीतको एरेन्जमेन्ट राजन ईशानले गरेका हुन् भने रेकर्डिङ ‘भ्वाइस अफ नेपाल रेकर्डिङ स्टुडियो’मा गरिएको हो।

आफ्नो सांस्कृतिक जरा र जन्मभूमिप्रतिको सम्बन्धबारे गायिका जुनु प्रसाई भन्छिन्, “हामी जहाँ गए पनि, जहाँ बसे पनि हाम्रो जरा लोकसंस्कृतिमै जोडिएको हुन्छ। हामी जन्मिएको गाउँ, हुर्किएको ठाउँ र त्यहाँको माटोसँग हाम्रो पहिचान जोडिएको हुन्छ। त्यसैले हामीले आफ्नो जन्मभूमि र संस्कृतिलाई सधैं सम्मान गर्नुपर्छ र त्यसप्रतिको माया कहिल्यै गुमाउनु हुँदैन।”

पूर्वी नेपालको लोकसंस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले प्रसाईले पछिल्लो समय लोक तथा आधुनिक लोकसंगीतमा आफ्नो सांगीतिक यात्रालाई केन्द्रित गर्दै आएकी छन्। उनका लागि लोकसंगीत एउटा विधा मात्र नभई माटो, संस्कृति र पहिचानसँग जोडिएको माध्यम हो।

म्युजिक भिडियोको निर्देशन तथा निर्माण हरि हुमागाईंले गरेका हुन्। भिडियोमा जुनु प्रसाई र प्रकाश सपुतसँगै अन्य कलाकारको पनि अभिनय रहेको छ। रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् भने मेकअपमा माही सिंहले योगदान गरेकी छन्।

भिडियोको छायांकन काठमाडौंको सुन्दर पर्यटकीय क्षेत्र फर्पिङमा गरिएको हो। प्राकृतिक सौन्दर्यसँगै स्थानीय सांस्कृतिक परिवेशलाई समेत भिडियोमा समेटिएकाले यसको दृश्यात्मक पक्ष आकर्षक देखिन्छ।

शास्त्रीय, सेमी–क्लासिकल, रोमान्टिक, आधुनिक तथा पपलगायत विभिन्न शैलीका गीतमा आफ्नो गायन क्षमता प्रस्तुत गरिसकेकी जुनु पछिल्लो समय पूर्वेली लोक तथा आधुनिक लोकसंगीततर्फ बढी केन्द्रित हुँदै गएकी छन्। विशेषगरी पूर्वी नेपालको लोकजीवन र सांस्कृतिक सुगन्धलाई नयाँ पुस्तासम्म पुर्‍याउने उनको प्रयासले सांगीतिक यात्रालाई थप फराकिलो बनाएको छ।

‘झगडा पर्यो पोइसित’मार्फत जुनुले गीतसँगै आफ्नो माटो, जन्मभूमि र लोकसंस्कृतिप्रतिको प्रेमलाई पनि प्रस्तुत गरेकी छन्। पूर्वेली लोकभाकालाई आधुनिक पुस्तासँग जोड्ने उनको निरन्तर प्रयासले नेपाली लोकसंगीतमा उनको उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

लोकप्रिय