माधव नेपाल पक्षले ६ मन्त्री पाउने, अहिले नपाउनेलाई अर्कोपटक मौका

माधव नेपाल पक्षले ६ मन्त्री पाउने, अहिले नपाउनेलाई अर्कोपटक मौका

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेबाट छुट्टिएको माधव नेपाल पक्षले सरकारमा माओवादी बराबरकै  हैसियतमा सहभागिता पाउने भएको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँटकाे कुरा लगभग टुंगिएको छ ।

स्रोतका अनुसार माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउने भएको छ । ५ मन्त्रालयसहित एकजना राज्यमन्त्री सो पार्टीले पाउने तय भएको स्रोतले जनाएको छ ।

दल दर्ताको प्रक्रिया टुंगिएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउँदैछ । नेकपा समाजवादीबाट सरकारको नेतृत्व गर्न वामदेव गौतमले इच्छा व्यक्त गरेका छन् । तर सो पार्टीभित्रै गौतमलाई कुनै हालतमा दिन नहुने र उनकै कारण नेकपा हुँदै एमालेसम्म विभाजन भएको मत बलियो छ ।

माधव नेपालनिकट एक नेताले भने– तत्कालीन नेकपामा वामदेवले ओली वा प्रचण्डमध्ये एकजनाको पक्षमा उभिएका भए सचिवालयमा बहुमत हुन्थ्यो र पार्टी नफुट्न सक्थ्यो । उनको चरित्र अहिले पनि त्यस्तै हो र उनीसँग कोही मान्छे पनि छैनन् । हामीले जोखिम मोलेर स्थापित गरेको सरकारमा भाग खोज्न लाज हुनुपर्ने हो ।

माधव नेपालको पार्टीबाट सरकारमा जान पाउने सम्भावना नदेखिएपछि गौतम एमालेमै रहेको विज्ञप्ति आएको छ ।

गौतमबाहेक साबिक एमाले स्थायी कमिटी सदस्यबाट सरकारको नेतृत्व गर्दा मुकुन्द न्यौपाने र बेदुराम भुसाल छन् । न्यौपाने प्रतिनिधिसभामा समानुपातिक सांसद हुने भने भुसाल राष्ट्रियसभा सदस्य । भुसाल अहिलेसम्म मन्त्री भएका छैनन्, न्यौपाने पूर्वमन्त्री हुन् ।

नेपालनिकट स्रोतका अनुसार उनी बेदुराम भुसाललाई अवसर दिन चाहान्छन् । त्यस्तै बाँकी ४ र एक राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगभग निश्चित छ ।

जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जनमध्ये एकजना मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये एकजनाले मौका पाउने सम्भावना रहेको नेपालनिकट स्रोतले जनाएको छ । नेपाल समूहमै राष्ट्रियसभामा कलम चिह्नबाट विजयी भएका डा. खिमलाल देवकोटाको नाम पनि चर्चामा छ ।

माधव नेपाललाई पार्टी विभाजनमा साथ दिएका लगभग सबै सांसदलाई सरकार पूरा अवधि चल्दा पालो गरेर मन्त्री बनाउने अनौपचारिक समझदारी बनेको छ ।

लोकप्रिय