सडक तथा हवाई दुवै यात्रा असुरक्षित, सुरक्षामा कहाँ चुक्दैछ सरकार ?
काठमाडौँ । शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री बोकेको बस मस्र्याङ्दी नदीमा खस्यो । युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस तनहुँको आँबुखैरेनी, ऐनापहरास्थित नदीमा खस्दा २७ जनाको मृत्यु भयो । २६ जनाको आँबुखैरेनी (घटनास्थल) र एक जनाको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् उनीहरूलाई काठमाडौँ स्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । बसमा सवार सबै यात्रु भारतको महाराष्ट्रका थिए भने उनीहरु उत्तर प्रदेश हुँदै नेपाल प्रवेश गरेका थिए ।
दुर्घटनामा परि ठूलो संख्यामा आफ्ना नागरिकको मृत्यु भएपछि भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से नेपाल आएकी छिन् । भारतीय प्रधानमन्त्री मोदीको निर्देशनमा उनी दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे बुझ्न साथै मृतकको शव लिन आएकी हुन् ।
यस अघि गएको असार २८ गते त्रिशूली नदिमा दुईवटा डिलक्स बस खस्दा ६५ जनाको मृत्यु भएको थियो भने बस अहिलेसम्म भेटिएका छैनन् । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । बसमा सवार २५ जनाको शव भेटिएको छ । बस र त्यसमा सवार ४० जना अझै बेपत्ता छन् । नेपाली सेना र सशस्त्रका गोताखोर तथा भारतीय विशेषज्ञ टिम ल्याएर खोजी गर्दा पनि बस फेला पर्न सकेन । अब बस र वेपत्ता शब भेटिने सम्भावना समेत सकिएको छ ।
यस्तै सिमलताल दुर्घटनाको १२ दिनपछि साउन ९ मा काठमाडौँमा विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए । सौर्य एयरलाइन्सको ९–एनए एमई विमान दुर्घटना हुँदा विमान व्यवस्थापन समूहका ५ जना सहित १८ जनाको मृत्यु भएको थियो । पोखरा उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित ह्याङ्गर पछाडिको खाली भागमा खसेको थियो । विमानका क्याप्टेन मनिष शाक्य उपचारपछि घर फर्केका छन् । तर, विमानमा सवार १८ जनाको मृत्यु भएको थियो ।
त्यसको केही दिन पछि एयर डाइनेस्टीको हेलिकप्टर साउन २३ मा नुवाकोटको शिवपुरीमा दुर्घटना भयो । रसुवाको स्याफ्रुवेशीका लागी उडेको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन अरुण मल्ल र ४ जना चिनियाँले ज्यान गुमाए । मृत्यु हुने चिनियाँ नागरिकहरूमा जुदाङ टाङ, जी ली, यियाद बु र जेमिङ सी थिए ।
यी त केही ठूला उदाहरणमुलक घटनाहरु मात्र हुन् देशैभर दैनिक दर्जनौँको संख्यामा दुर्घटना हुँदा कैयौँले ज्यान गुमाइरहेका छन् भने सयौँ घाइते भइरहेका छन् । एकपछि अर्को ठूला दुर्घटनाले नागरिक त्रसित मात्र छैनन् हवाई तथा सडक सुरक्षामाथि नै प्रश्न उठ्न थालेको छ । बर्षेनी सयौँले सडक तथा हवाई दुर्घटनामा ज्यान गुमाइरहँदा पनि नेपालको सडक तथा हवाई सुरक्षामा सुधार आउन सकेको छैन ।
दुर्घटना किन भयो, कसरी भयो भयो भन्दा पनि त्यसलाई न्यूनिकरण गर्ने बिषयमा केन्द्रीत भएको गृह मन्त्रालयले बताइरहेको छ । मन्त्रालयका प्रवक्ता एवः सह–सचिव नारायण प्रसाद भट्टराईले चितवनको सिमताल दुर्घटना, हवाई दुर्घटना जस्ता ठूला दुर्घटनाको बिषयमा छानविन समिति नै गठन गरेर अध्ययन तथा अनुसन्धान भइरहेको बताएका छन् । अध्ययन अनुसन्धान पश्चात् घटनाहरु आगामी दिनमा नदोहोरिनको लागि आगामी रणनीतिहरु तयार पारिरहेको बताएका छन् ।
‘छानविन समितिको रिर्पोट पछि सरकारका विभिन्न समितिहरुमा यसको बिषयमा छलफल तथा निर्देशन र आगामि रणनीतिहरु बनाउने काम भइरहेको छ,’ उनले भने ‘मनसुनमा यस्ता घटनाहरु धेरै भइरहेका छन् । हामीले अन्य मन्त्रालय, निकाय, नेपाल प्रहरी, शसस्त्र प्रहरी, यातायात व्यवसायीहरुसंग समन्वय गरेर यस्ता अप्रिय घटनाबारे सचेत तथा विभिन्न कार्यहरुको लागि निर्देशन दिएका छौँ ।’
बर्षेनी हुने दुर्घटना तथा बाढि पहिरो जस्ता विपद्का घटनाबारे मन्त्रालय एकदमै गम्भिर रहेको भन्दै उनले त्यसबारे सबैलाई आ–आफ्नो ठाउँबाट सचेत हुन आग्रह समेत गरेका छन् । दुर्घटनाका विविध कारणहरु रहेको भन्दै उनले सडक तथा हवाई सुरक्षामा गृह मन्त्रालय गम्भिर रहेको बताएका छन् ।
प्रतिकृया दिनुहोस्