उपसभामुख विरुद्ध एकजुट गठबन्धनः प्रथामिकताका हजारौँ क्षेत्रहरु छायाँमा, राजनीतिक आरोप प्रत्यारोपमै सिमित संसद

उपसभामुख विरुद्ध एकजुट गठबन्धनः प्रथामिकताका हजारौँ क्षेत्रहरु छायाँमा, राजनीतिक आरोप प्रत्यारोपमै सिमित संसद

काठमाडौँ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांश सत्तारुढ दलका सांसदहरुले उपसभामुख इन्दिरा राना मगरको विरोध तथा राजिनामा माग गरे । बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद शान्ति परियारले पत्रमा हस्ताक्षर गर्न हुने नहुने उपसभामुख जस्तो व्यक्तिले बुझ्नुपर्ने बताइन् । उनले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न माग गरिन् ।

‘पत्र लेख्नु कति जायज थियो उहाँले बुझ्नु पर्ने थियो । उपसभामुख पद देशको प्रतिष्ठा जोडिएको छ । उपसभामुख पद देशको अभिभावक हो‚’ उनले भनिन्‚‘यसमा विवाद आउँदा यस्तो गरिमामय पदमा आउँदाखेरी मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ । प्रतिष्ठासँग जोडिएको हुँदा गम्भीर भएर मार्ग प्रशस्त गर्न अनुरोध छ ।’

कांग्रेस एमालेले ह्विप नै गरे जारी

नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ । कांग्रेसले २०८१ असोज ३ गतेसम्म काठमाडौँ उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरूलाई यथाशीघ्र काठमाडौँ आउन समेत ह्विप जारी गरिएको कांग्रेसका एक सांसदले बताए ।
उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव ल्याउने तयारीमा सत्ता पक्ष रहेकाले कांग्रेसले यस्तो निर्देशन आफ्ना सांसदहरूलाई जारी गरेको हो । कांग्रेसले पदीय आचार विपरीतको काम गरेको भन्दै उनीविरुद्ध प्रस्ताव दर्ता गर्ने तयारीकै कारण नेकपा एमालेले यसअघि आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान भनेको थियो ।

बचाउमा प्रतिपक्ष दलहरु

सत्तारुढ दलका संसादहरुले उपसभामुखको राजिनामा माग गरीरहेको बेला प्रतिपक्ष दलहरुले भने उनको बचाउ गरेका छन् । उपसभामुखलाई गलत नियतका साथ पदबाट हटाउन खोजिएको जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले तर्क गरेका छन् । राउतले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताएका हुन् । उनले सरकारले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताए । संवैधानिक परिषदमा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भएकाले गलत नियत राखिएको उनको भनाई छ । अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने बताए ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले महिला दलित थारू आदिवासी जनजातिहरूले उच्च ओहोदामा पुग्न छेकिने भन्दै भने‚‘के निहुँ पाउँ गलत्याउ भन्ने देखिन्छ ।’ उपसभामुखको गल्ती भएको भए सम्बन्धित पार्टीसँग संवाद गर्नुपर्ने बताए । उनले केही कारण नभई हटाउन नमिल्ने बताए ।

उपसभामुखलाई हटाइए सत्तारुढ दलहरूका लागि आत्मघाती हुने चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउन लागेको हो भने गलत हुने भन्दै सचेत गराएका छन् । उनले दुई तिहाइको शक्ति भएको सरकारको प्राथमिकताहरू धेरै भएको भन्दै शक्तिको सदुपयोग गर्न आग्रह गरेको पनि उल्लेख गरे । उनले प्रधानमन्त्रीले आफू सो विषयमा छलफलमा रहेको जानकारी दिएको बताए । उनले भने, ‘संसद्को अंकगणित भन्दा धेरै जनता बाहिर छन् । कांग्रेस र एमालेले प्राप्त गरेको मत भनेको भोट हाल्नसक्ने मतदाताको ३० प्रतिशत मात्रै हो । ७० प्रतिशतको प्रतिनिधित्व रास्वपा लगायतका दलहरूले गर्छन् यो हेक्का रहोस् । ७० प्रतिशतलाई ३० प्रतिशतले च्यालेन्ज नगरे हुन्छ । उहाँहरूको यो आत्मघाती गोल हुन्छ । आफ्नै पोष्टमा गोल हान्ने विचार गर्नुभएको छ भने मेरो भन्नु के छ र ?’ सभापति लामिछानेले यदि उपसभामुखलाई हटाइए सत्तारुढ दलहरूका लागि आत्मघाती हुने चेतावनी दिए ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद मनिष झाले उपसभामुख इन्दिरा राना मगरलाई पूर्ण ज्ञान नभएर पत्रमा हस्ताक्षर गरेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद झाले उपसभामुखले आफूबाट गल्ती भएको भनेर विज्ञप्ति पनि निकालिसकेको उनको भनाइ छ ।

उपसभामुख राना मगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो । ‘हाम्रो उपसभामुखले एउटा पत्र लेख्नुभयो, उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । जसका बारेमा उहाँले मबाट गल्ती भयो भनेर विज्ञप्ति पनि निकालिसक्नुभयो,’ उनले भने, ‘१९ महिनापछि त्यो राजनीतिक रूपमा चर्चाको विषय भएको छ । बार्गेनिङका लागि त्यो पत्र प्रयोग गरिँदैछ ।’

लोकप्रिय