प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेस बिच भेट, ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान मत

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेट वार्ता भएको छ । भेटमा ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ ।
अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालायमा भएको भेटवार्तामा महासचिव गुटेरेसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले ग्रिनहाउस ग्यास उत्सर्जनमा भारी कटौती र कमजोरीहरू सम्बोधन सहित नेपालजस्ता पर्वतीय देशहरूको जलवायु वित्त पर्याप्त हुनुपर्नेमा जोड दिएका थिए । गत वर्ष आफ्नो नेपाल भ्रमणका क्रममा नेपाल सरकार र नेपाली जनताले देखाएको सदासयताप्रति गुटेरेसले आभार व्यक्त गरे । अतिकम विकसित देशलगायत विकासशील देशले कार्बन उत्सर्जन न्यूनीकरण र रोकथाममा ध्यान केन्द्रित गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा गहन सुधारको आवश्यकतामा उनले जोड दिएका भेटमा सहभागी राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापाले जानकारी दिए ।
विकासशील देशहरूले उन्नत वित्तीय सहायताका लागि वित्तीय संरचना सरलीकृत गर्न राष्ट्रसंघले पहल गर्ने विश्वास दिलाउँदै महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघको शान्ति कार्यमा नेपाली शान्ति सैनिकको योगदानको उच्च प्रशंसा गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरेकामा कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गरेका थिए । उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न योगदान गरिरहेका नेपाली शान्ति सेनालाई राष्ट्रसंघको उच्चतम् पद उपलब्ध गराउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले नेपालको खुम्बु क्षेत्रमा हालै गएको हिम पहिरोप्रति राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको चासोका लागि पनि धन्यवाद दिए । नेपालले चाँडै ‘हिमालय इकोसिस्टम’को एजेण्डासहित सगरमाथा संवादको आयोजना गर्ने उनको भनाइ थियो । उक्त संवादमा सहभागी हुन ओलीले महासचिव गुटेरेसलाई निमन्त्रणासमेत दिए ।
प्रतिकृया दिनुहोस्