यी अबाेध बालबालिकालाई अमेरिकाले मिसाइल हानेर मार्‍यो, अमेरिकाकै अखबारले गर्‍यो यस्ताे भयानक खुलासा

यी अबाेध बालबालिकालाई अमेरिकाले मिसाइल हानेर मार्‍यो, अमेरिकाकै अखबारले गर्‍यो यस्ताे भयानक खुलासा

काठमाडौं। काबुल विमानस्थलमा सयौंको ज्यान जानेगरी आत्मघाती बम आक्रमण भएपछि अमेरिकाले यसको जवाफमा काबुलमा एयरस्ट्राइक गरेको थियो । अमेरिकाले त्यो एयरस्ट्राइकमा विष्फोटक पदार्थ बोकेर काबुल विमानस्थलतर्फ आइरहेको गाडीलाई ध्वस्त पारेको दावी गरेको थियो । तर, अमेरिकाकै प्रतिष्ठित अखबार न्यूयोर्क टाइम्सले भने अमेरिकाले निशाना बनाएको गाडीले विष्फोटक पदार्थ नभइ खानेपानीका जारहरु बोकेको दावी गरेको छ ।

काबुल विमानस्थलमा भएको आत्मघाती आक्रमणको जिम्मेवारी आइएसआइएस–केले लिएको थियो । त्यसपछि अमेरिकाले २ पटक एयरस्ट्राइक गरेको थियो । यो एयरस्ट्राइकमा आत्मघाती आक्रमणका मुख्य योजनाकार मारिएको अमेरिकाले दावी गरेको थियो । तर, न्यूयोर्क टाइम्सले भने अमेरिकाले जुन ठाउँमा एयरस्ट्राइक गरेको थियो त्यहाँ एक सहायताकर्मी ड्राइभरलाई निशाना बनाइएको दावी गरेको छ । उनले चलाइरहेको कार विष्फोटक पदार्थले नभइ पानीका जारले भरिएको रिपोर्टमा दावी गरिएको छ ।

न्यूयोर्क टाइम्सको जाँच रिपोर्टका अनुसार २९ अगष्टका दिन जतिबेला अमेरिकाले एयरस्ट्राइक गरेको थियो त्यतिबेला ४३ वर्षका जेमारी अहमदी १९९६ मोडलको टोयोटा कोरोला गाडी चलाइरहेका थिए । यो गाडी आक्रमणपछि नष्ट भएको थियो । यो एयरस्ट्राइकमा जेमारी र ७ जना बालबालिकासहित परिवारका ९ जनाको मृत्यु भएको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले भने एयरस्ट्राइकपछि केवल ३ जना सर्वसाधारणको मृत्यु भएको दावी गरेको थियो । तर, न्यूयोर्क टाइम्सले अफगानी परिवारलाई उनीहरुका १० सदस्यको कसरी मृत्यु भयो भन्ने विस्तारमा बताएको छ ।

न्यूयोर्क टाइम्सले अहमदीको कामको बारेमा जानकारहरु, प्रत्यक्षदर्शीहरु, सीसीटिभी फुटेज र निगरानीका आधारमा भिडियो फुटेजसमेत सार्वजनिक गर्दै जुन गाडीलाई एयरस्ट्राइकमा ध्वस्त पारियो त्यसमा पानीबाहेक अरु केही पनि लोड नभएको खुलासा गरेको छ । एयरस्ट्राइकमा मारिएका अहमदीका भाइ इमलले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै भने ‘मारिएका सबैजना निर्दोष थिए । अहमदीले आफ्नो अन्तर्राष्ट्रिय सहायता कार्यको आधारमा अमेरिकासँग शरणार्थीको दर्जा मागेका थिए । तपाइँ भन्नुहुन्छ कि उनको सम्बनध आइएसआइएससँग छ तर उनले अमेरिकीहरुको लागि काम गरेका थिए ।’

पेन्टागनले भने अझै पनि जोड दिँदै अहमदीका गतिविधिहरुले उनलाई आइएसआइएस–केको एक सुरक्षित अड्डासँग जोडेको र उनको वाहनमा विष्फोटक भएको दावी गर्दै यो विष्फोटकको प्रयोग काबुल एयरपोर्टबाट निकासीको अन्तिम घण्टामा अमेरिकी सैनिकमाथि आक्रमणको लागि गरिएको समेत दावी गरेको छ । अमेरिकी ज्वाइन्ट चीफ अफ स्टाफका अध्यक्ष मार्क ए मिलेले गत हप्ता अहमदी आइएसआइएसका सूत्रधार भएको समेत दावी गरेका थिए । एयरस्ट्राइक गरिएको घरमा अहमदी आफ्ना तीन दाजुभाइ र उनीहरुका परिवारको साथमा बस्थे ।

आक्रमणको केही समयपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले देशका नाममा सम्बोधन गर्दै ३१ अगष्टको समय सीमासम्म अमेरिकी सैनिक अफगानिस्तानबाट बाहिरिने बताएका थिए । उनले जमिनमा नटेकी आतंकवादी र उनीहरुको अड्डामा आक्रमण गर्न सक्ने अमेरिकी क्षमताबारे पनि बताएका थिए । तर, न्यूयोर्क टाइम्सका अनुसार २९ अगष्टको एयरस्ट्राइकपछि कति सर्वसाधारण मारिए भन्नेबारे जानकारी पाउन राष्ट्रपति बाइडेन विफल रहे । उनले एयरस्ट्राइकमा ७ बालबालिकाको मृत्यु भएको पनि उल्लेख गरेनन् । बाइडेनले भनेका थिए ‘हामीले १३ अमेरिकी सैनिक र दर्जनौं निर्दोष अफगानीहरुको हत्या गर्ने आइएसआइएस–केमाथि आक्रमण गर्यौं जसमा यो षड्यन्त्रका मुख्य योजनाकार पनि मारिए ।’

लोकप्रिय