जलाशययुक्त आयोजनामा इयुको चासो
काठमाडौं । युरोपियन युनियनले नेपालका ठुला जलाशययुक्त आयोजनामा लगानी गर्न तयार रहेको बताइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँगको शिष्टाचार भेटमा नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले यस्तो बताउनुभएको हो। सिंहदरबारस्थित मन्त्रालयमा मङ्गलबार भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा युरोपियन युनियनले गरेको सहयोगका विविध विषयमा छलफल भएको थियो । भेटमा राजदूत लोरेन्जोले जलवायु परिवर्तन र वैकल्पिक ऊर्जाका क्षेत्रमा नेपालको विकासका लागि थप सहकार्य गर्न युरोपियन युनियन प्रतिबद्ध रहेको औँल्याउनुभएको थियो ।
राजदूत लोरेन्जोले नेपालको ऊर्जा क्षेत्रको विकासमा इयुले थप ऋण तथा अनुदान सहायता उपलब्ध गराउने बताउनुभयो । अप्पर अरुण, दुधकोशी जलाशययुक्त आयोजनालगायतमा इयु लगानी गर्न इच्छुक रहेको राजदूत लोरेन्जोको भनाइ थियो । भेटमा इयुको लगानीमा निर्माण भएको चिलिमे–त्रिशूली प्रसारण लाइन उद्घाटन गर्ने सम्बन्धमा समेत छलफल भएको जनाइएको छ ।


प्रतिकृया दिनुहोस्