बुद्धको शिक्षाले समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ: प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भगवान् गौतम बुद्धले व्यवहारबाटै दिएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको बताएका छन् ।
उनले क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक रहेको बताउँदै बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको जिकिर गरेका हुन्। बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण पनि भएको उनको भनाई छ। उनले भनेका छन्, ‘करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतम बुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैंगिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको छ।’


प्रतिकृया दिनुहोस्