शहिद लखन गाउँपालिकाको भवन उद्घाटन गर्दै प्रचण्डले भने संघीयता विरोधीहरुको प्रयास सफल हुँदैन

शहिद लखन गाउँपालिकाको भवन उद्घाटन गर्दै प्रचण्डले भने संघीयता विरोधीहरुको प्रयास सफल हुँदैन

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको पर्यटकीय गाउँपालिका शहिद लखन गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेका छन् । सो कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले संविधान र संघीयता विरोधीहरुको प्रयास सफल नहुने दाबी गरेका छन ।
उनले भने, यसको रक्षाको लागि हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ , तर जनताको समस्या समाधान गर्ने कुरामा सुशासन सामाजिक न्याय र आर्थिक विकास दिने कुरा महत्वपूर्ण छ । हामी त्यतातर्फ केन्द्रित हुनुपर्छ । यो संविधान र व्यवस्था विरोधीहरू सफल हुने त कुनै सम्भावना छैन । तर हामीले जनतालाई सकारात्मक परिणाम दियौँ भने त्यो आफैँ बिलाएर जान्छ । तर सतर्क हुनुपर्ने आवश्यक छ । उनले नेपालमा केही छैन र केही हुँदैन भन्ने नकारात्मक भाष्य बन्दै गइरहेकोप्रति चिन्ता व्यक्त गरे । उनले बूढीगण्डकी आयोजना निर्माणका लागि राजनीतिक समझदारी आवश्यक रहेको भन्दै आफूले निरन्तर पहल गरिरहेको बताए ।
उनले आफू प्रधानमन्त्री भएको बेलामाजस्तै बूढीगण्डकी आयोजनाको मोडालिटीको बारेमा अरू कसैको पालामा छलफल नभएको बताए । युवाहरू विदेशिने र समाजमा निराशा बढ्दै गएको सन्दर्भमा उनले त्यसलाई चिर्न स्वदेशभित्रै रहेका स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरी देशमै केही गर्न सकिन्छ भन्ने भावना जगाउन आवश्यक रहेको बताए ।
उनले भने, ‘नेपाल संसारमै सम्भावनायुक्त देश हो । युवाहरूले निराशा होइन, आशाको भावना बोकेर अघि बढ्नुपर्छ ।’ उनले गोरखाको विकासमा आफू प्रधानमन्त्री हुँदा र अहिले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समेत निरन्तर ध्यान दिएको बताए ।
उनले भने, ‘संघीयता कार्यान्वयन र स्थानीय तहलाई प्रभावकारी बनाउन म प्रधानमन्त्री हुँदा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि पटक–पटक बैठक आयोजना गरेर संघीयताको कार्यान्वयनका लागि पहल गरेको थिएँ । त्यसका लागि धेरै काम अगाडि पनि बढाइएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि त्यो काम रोकिएको छ ।’ संविधानमा उल्लेखित कतिपय अधिकार अझै कार्यान्वयनमा नआएकोप्रति उनले चिन्ता व्यक्त गरे । गाउँगाउँमा सिंहदरबार भन्ने अवधारणा आफूले नै ल्याएको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो ।

लोकप्रिय