भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै सीमा क्षेत्रमा सतर्कता
काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै सीमावर्ती बजार वीरगञ्जमा पनि सतर्कता अपनाउन थालिएको छ।
भारतबाट स्थलमार्ग र रेल्वेमार्ग हुँदै वीरगञ्ज प्रवेश गर्ने यात्रुमाथि स्वास्थ्य जाँच गर्न थालिएको हो। पर्साको जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको यही जेठ १५ गते बसेको बैठकले कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमानाकामा स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमानसिंह वीरगञ्ज नाकामा स्थापना गरिएको सहायता कक्ष (हेल्थ डेस्क)को सोमबार निरीक्षण गर्दै छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको वृद्धि भएकाले नाका प्रदेशमा सतर्कता अपनाउन जरुरी रहेको बताए। महानगरका अनुसार हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम मापन गर्ने उपकरणलगायत सामग्रीको व्यवस्थापन गरिएको छ। स्वास्थ्यकर्मी इब्राना खातुनले रक्सौलबाट आउने प्रत्येक व्यक्तिको तापक्रम जाँच अनिवार्य गरिएको बताए। उनका अनुसार यहाँ सञ्चालित हेल्थ डेस्कमा सात जना स्वास्थ्यकर्मी खटिएका छन्।


प्रतिकृया दिनुहोस्