कोरोनाको संकटपछि आत्महत्याको बढोत्तरी

कोरोनाको महामारी, लकडाउन तथा निशेधाज्ञाका कारण मानिसको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यका साथसाथै धार्मिक, सास्कृतिक, आर्थिक लगायतका पाटोलाई समेत असर पुर्याएको छ । यसले सबै तह, तप्का, उमेर, वर्ग र समुदायका ब्यक्तिलाई प्रभाव पारेको छ । कोरोनाको संकटपछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समचारहरु हिजो आज सुन्नमा आईरहेका छन् । तर आत्महत्या कोरोनाको प्रकोप पछि मात्र निम्तिएको समस्या भने होइन ।
नेपालमा पनि आत्महत्या पहिला देखि नै जनस्वास्थ्यको एउटा ठुलो समस्या र चुनौतिका रूपमा देखा पर्दै आएको छ । तथ्यांकले देखाए अनुसार नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८–१० प्रतिशतले वृद्धि हुँदै गइरहेको पाईन्छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार कोरोनाको महामारी भन्दा अगाडि आ.व. २०७५/७६ मा ५,७५४ जनाले आत्महत्याबाट ज्यान गुमाएका थिए । जुन सरदर दैनिक १६ जना पर्न आउछ ।
कोरोनाको महामारी शुरु भए पछि आ.व.२०७६/७७ मा आत्महत्याबाट ज्यान गुमाउनेहरुको संख्या ६२७९ रहेको छ । जुन दैनिक १७ जनाले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेको देखिन्छ ।
त्यसैगरी आ.व २०७७/०७८ मा ७ हजार ११७ जना मानिसहरुले विभिन्न कारण आत्महत्या गरी ज्यान गुमाएको तथ्यांक नेपाल प्रहरीले तथ्यांकमा उल्लेख छ । दैनिक औसत रुपमा १९ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । यो संख्या आ.व ०७६/०७७ भन्दा १४ प्रतिशतले बढी हो । प्रकृतिक बिपत्ति पर्दा, रोगब्याधि फैँलिदा जस्ता असहज र जोखिम पुर्ण अबस्थामा मानसिक स्वास्थ्य समस्या तथा आत्महत्याको दर बढेर जाने जोखिम हुन्छ ।
आत्महत्या कोरोनाको महामारी पछिको मात्र समस्या हो । कोरोनाको महामारीले गर्दा मात्र भयावह भएको हो पहिले यस्तो थिएन भन्ने बुझाई सरासर गलत हो । तर कोरोनाको संकट पछि आत्महत्याको दर बढेर गएको भने प्रष्ट भएको छ ।
आत्महत्या एकदमै संबेदनसिल बिषय
आत्महत्याको समचारलाई अतिरन्जित र सनसनी पुर्ण बनाउनु हुदैन । जसले समाजमा झनै नकारात्मक असर पु¥याउछ । डिप्रेसनमा गएका र आत्महत्याको सोच बनाएकाहरुलाई यसले आत्महत्या गर्ने हौसला बढाउँछ ।
बालबालिकाहरुले पनि त्यसको सिको गर्न सक्छन् । आत्महत्या बिश्वब्यापी रुपमा नै जनस्वास्थ्यको एउटा जटिल समस्या बन्दै गएको छ ।
विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्माहत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ । एक आत्महत्या हुँदा पच्चिस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भिर रूपमा सोचेका हुन्छन् ।
प्रत्येक वर्ष बिश्वमा सरदर ८-१० लाख व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन् । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषहरुले बढि आत्माहत्या गर्ने गर्छन । तर आत्महत्याको प्रयास गर्नेमा भने पुरुष भन्दा महिलाहरु बढि हुन्छन् ।
प्रायः सबै मानिस दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । “मर्ने कसैको रहर हुँदैन” तर किन कोहि ब्यक्तिहरु आत्महत्या गरेर आफ्नो जीवन आफै समाप्त पार्न खोज्छन ? आत्महत्याको अवस्थामा पुगेको व्यक्तिले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएको देख्छ । मर्नु बाहेक अरु कुनै पनि विकल्पहरू भेट्दैन । उ चरम निरासामा डुबेको हुन्छ ।
आत्महत्या गर्ने अवस्थामा पुग्नुमा धेरै कारणहरू हुन्छन । आत्महत्या गर्नुमा ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको देखिएको छ । त्यसमा पनि डिप्रेसन नामक मनोरोग मुख्य मानिन्छ । केही केही ब्यक्तिले क्षणिक आवेगमा आएर पनि आत्महत्या गरेको पाईन्छ । अत्याधिक जाँड, रक्सी तथा लागूँ पदार्थको सेवन र कडाखालको मानसिक रोगका कारण पनि व्यक्तिले आत्महत्या गर्न सक्छन ।
व्यक्तिले आत्महत्या आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, साँस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ । धेरै जस्तो अबस्थामा आत्महत्या वा आत्महत्याको प्रयासलाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ ।
जसरी कुनै कुनै शारीरिक रोगमा केही ब्यक्तिहरु उच्च जोखिमा हुन्छ । त्यसै गरि मानसिक रोग र आत्महत्याको हिसाबले पनि केही ब्यक्तिहरु उच्च जोखिममा रहेका हुन सक्छन । जस्तो डिप्रेसन भएका, कुनै दुखद घटनाले धेरै प्रभावित भएका, पटक पटक आत्महत्याको प्रयास गरेका, तनाब पुर्ण पेशा र ब्यबसायमा लागेका पारिबारिक झै–झगडा वा उल्झनमा फसेका, आर्थिक संकटमा परेका, बेरोजगार तथा लागू पदार्थको कुलतमा फसेकाहरु आत्महत्याको हिसाबले जोखिममा परेका ब्यक्तिहरु मानिन्छन् ।
मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । मानसिक रोग र आत्महत्यालाई हाम्रो समाजले फरक रुपमा लिन्छ । फरक तरिकाले बुझ्छ । मानसिक रोगलाई पुर्वजन्मको पाप र अपराध ठान्छ । देबिदेवता कुल देवता बिग्रेको भन्छ । आत्महत्या गर्नेलाई समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म हुने गरेक समेत यदाकदा पाइन्छ ।
“हरपल मरीमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ” एउटा गितले भनेझै दुःख र निरासाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल बितेर जान्छ र आफ्नो आत्महत्याको सोच, निर्णय र विचारमा परिवर्तन आउनसक्छ । त्यो थोरै समयको धैर्यता र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईले कसैलाई गर्नु भएको सानो सहयोग र तपाईको थेरै धैर्यताले पनि जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।
संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ , मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा टुवाँलो लागेको मात्र हो । धैर्य गरियो भने एक दिन त्यो टवालो अबस्य फाँट्छ । जीवन रहे मात्र आफूले गरेका गल्तीहरू सच्याउन सकिन्छ । आफ्ना गल्तीहरुको प्रायश्चित गर्न सकिन्छ । तर आफू नै नभएपछि आफूले गरेको भुललाई सुधार्न र प्रायश्चित गर्ने मौका नै पाइदैन ।
आत्महत्या समस्याको समाधान हुँदै होइन
आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार नै हो । केहि अवस्थामा बाहेक व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन । आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने वा व्यक्त गर्ने गर्दछ । यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको सोच वा प्रयासलाई रोक्न सकिन्छ ।
आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न सकिन्छ
आत्महत्याको खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा धेरैको जीवन बचाउन सकिन्छ । यसका लागि हामी सबैको सहकार्यको जरुरत पर्दछ ।
(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)
प्रतिकृया दिनुहोस्