फाप्लु विमानस्थल पुनः सञ्चालनमा
सोलुखुम्बु । वर्खाको समयमा प्रतिकुल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको उडाउन १७ दिनपछि विमान उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जानकारी दिएको छ ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौंबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौं फर्किएको छ ।
जहाज जाने क्रममा १२ जना यात्रु थिए भने, काठमाडौं फर्किने क्रममा १० जना यात्रु लिएर फर्किएएको थियो । त्यहाँको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बर लामो समय उडान ठप्प हुने गर्दछ । जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले विमानस्थल ठप्प भएको थियो ।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तहरु काठमाडौँ पठाउन सकस परेको स्थानीयहरुको गुनासो छ ।
उडान बन्द हुँदा गम्भीर अवस्थाका बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीहरु बताउँछन् । काठमाडौं ‘रेफर’ गरिएका बिरामीलाई जहाजमार्फत पठाउन नसकिंदा घण्टौं लगाएर गाडीमार्फत ओखलढुङ्गा तथा विराटनगर पठाउनु परेको थियो ।
सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला भएपनि खराब मौसमका कारण फाप्लु वैकल्पिक स्थलका रुपमा लिने गरिन्छ । उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेका छन् ।
नेपाल एयरलाइन्सले हप्तामा सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाण्डौँ–फाप्लुमा उडान भर्ने तालिका तय भएपनि मौसमका कारण ती उडानहरु अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् ।


प्रतिकृया दिनुहोस्