संसद दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
काठमाडौं । प्रत्येक वर्ष असार १६ गतेलाई संसद दिवस मनाइने गरीएको छ । २०१६ साल असार १६ गते पहिलोपटक जननिर्वाचित पहिलो संसदको बैठक बसेको अवसरमा हरेक वर्ष असार १६ गतेलाई संसद दिवस मनाइने गरिन्छ ।
सभामुख देवराज घिमिरेले संसद दिवस, २०८२ को अवसरमा शुभकामना दिँदै संसदमा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन् ।
लोकतन्त्र, संविधानवाद, जनताको अधिकार तथा जनताप्रति जनप्रतिनिधिको उत्तरदायित्वको स्मरण गर्ने दिन भएको बताए ।
यसैगरी, संसद दिवसको शुभकामना दिँदै उपसभामुख इन्दिरा राना मगरले संसदको प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता झनै महत्वपूर्ण बन्दै गएको बताएकी छन् ।
‘संसद प्रभावकारी र जनउत्तरदायी भयो कि भएन भन्ने विषय बहसमा रहेको हुँदा संसदलाई कसरी जनउत्तरदायी बनाउँदै लैजाने भन्ने चिन्तन हामी सबैमा हुनुपर्छ, संसद् कमजोर हुँदा जनताका आवाजहरु दबाइन्छन् यसैले संसदीय सर्वोच्चताका लागि हामी सबै लाग्न जरुरी भएको बताईन् ।
यसैगरी, संसद दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले, ‘हाम्रो साझा उद्देश्य संसदलाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्दछ, यसका लागि सांसदहरूको क्षमतामा वृद्धिसँगै संसदीय अभ्यासमा आधुनिक प्रविधिको प्रयोग, विषयगत अनुसन्धान, जनतासँगको सम्बन्ध र कार्यपालिकामाथिको निगरानीको भूमिकामा सुधार आवश्यक भएको बताए ।’
संसद दिवस मनाइरहँदा संसदले अझ प्रभावकारी रुपमा समाज र राष्ट्रको हितमा काम गर्नुपर्ने तथा, ‘संसदलाई अझ बढी जनताको आवाज उठाउने थलोका रूपमा कसरी स्थापित गर्न सकिन्छ भन्नेतर्फ हामी सबैको ध्यान जान जरूरी भएको बताए ।’
यसैगरी, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसदको जनउत्तरदायी, पारदर्शी र प्रभावकारीताबारे समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् । ६७औँ संसद् दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्दै लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनुपर्ने आवश्यकता भएको बताएकी छिन् ।
शुभकामना सन्देशमा, ‘मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्न सांसद, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र जनताले साझा प्रयास गर्नुपर्छ, संसद् बलियो हुँदा मात्र संविधान कार्यान्वयन हुन्छ, शासन उत्तरदायी बन्छ, र जनताले सुशासन अनुभव गर्न पाउँछन् ।’


प्रतिकृया दिनुहोस्