कांग्रेस सभापतिमा उठ्ने भनेर प्रकाशमान सिंहले गरे घोषणा
काठमाडाैं । सत्तासिन नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टीकाे सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएकाे छ ।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर-१७ ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले आसन्न १४औं महाधिवेशनमा सभापतिमा लड्ने घाेषणा गर्नुभएकाे हाे । लामो समयदेखि आफूले पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब पार्टी नेतृत्वमा बसेर काम गर्न चाहेको नेता सिंहले बताउनुभयाे ।
उहाँले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको बताउनुभयाे । ‘पार्टीमा आमुल परिवर्तन ल्याउन नम्बर वान म्यान हुनैपर्ने रहेछ भन्ने मेराे अनुभवछ,नेपाली कांग्रेस पार्टीलाई संस्थागत गर्छु भनेर लागिराखेकाे छु’-सिंहले भन्नुभयाे ।
१४ औं महाधिवेशनले पनि पुरानै नेतालाई नेतृत्व सुम्पिए कांग्रेस प्रजापरिषद् बाटाेमा लाग्न धेरै समय नलाग्ने सिंहले दाबी गर्नुभयाे । अवसर पाएर पनि काम नगर्ने नेतालाई अगाडि सार्न नहुने उहाँले बताउनुभयाे । आफूले सबै नेतालाई सम्मान गर्ने बताउँदै सिंहले भन्नुभयाे -‘उहाँलेहरु पनि डेमाेक्रेसी ल्याउन त्याग, तपस्या, कुर्वानी गर्नु भएको छ, त्यसप्रति सम्मान छ, तर अवसर पाएका बेला काम नगरेको र पार्टीको जुन लथालिंग अवस्था छ, यदि हामीले यो लथालिंग अवस्थामा १४औं महाधिवेशनमा पनि ठीक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौं भने यो पार्टी प्रजापरिषद्को बाटोमा जान धेरै दिन लाग्दैन ।’
प्रतिकृया दिनुहोस