प्रधानमन्त्री देउवालाई बाध्यता : अहिलेकाे अवस्थामा संसद विघटन गरेर चुनावमा जाँदा सजिलै आउँनेछ एकल सत्ता

प्रधानमन्त्री देउवालाई बाध्यता : अहिलेकाे अवस्थामा संसद विघटन गरेर चुनावमा जाँदा सजिलै आउँनेछ एकल सत्ता

काठमाडौं । ‘नेपालका कम्युनिष्ट पार्टिहरु छिया छिया भएरफुटेका छन्, ठूलाे दल एमाले फुटेको छ, माओवादी त झन् जन समाजमा बदनाम भएर कमजोर भइसकेको छ, यही मौका छाेपेर चुनावमा जानुपर्छ र आरामले बहुमत ल्याउनुपर्छ’– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा वरिपरिका मानिसहरु यसो भन्न थालेका छन् ।

‘दुई महिनासम्म मन्त्रिमण्डल विस्तार गर्न दिएनन्, कांग्रेसलाई असफल र कमजोर बनाएमा मात्र आगामी चुनावहरुमा गठवन्धन गर्न मान्छ, त्यसकारण कांग्रेसलाई ध्वस्त पार्नुपर्छ भन्दैछन्’– कांग्रेसका ती नेताले सनराइज खबरलाई भने । उनका अनुसार प्रधानमन्त्री देउवालाई प्रतिनिधि सभा विघटन गरेर आम चुनावमा जान वाध्य पारिँदैछ ।

प्रतिनिधि सभा विघटन गरेर चुनावमा जान नेकपा एमाले तथा केपी शर्मा ओली पनि तयार हुने विष्लेशणले कांग्रेसको आन्तरिक बजार तातेको छ ।

जानकारहरुका अनुसार कांग्रेसले माओवादी र माधवहरुसँग चुनावी गठवन्धन गर्न मानिरहेको छैन । बरु, कांग्रेसको रोजाई चुनाव बन्दै गइरहेको छ । ‘यही अवस्थामा सरकार चलाउनुको औचित्य देखिएन, चुनावमै जानुपर्छ’– शेरबहादुर निकट नेताहरु अनौपचारिक रुपमा यसो भन्न थालेका छन् ।

शेरबहादुरको प्राथमिकता चुनाव बन्दै गएको माओवादी र माधवको पार्टीले पनि बुझ्न थालेको छ । यही कारण सभामुख पदमा रहनुभएका अग्निप्रसाद सापकोटाले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा विघटन गर्ने हो भने प्रतिनिधि सभा आफैंले निर्णय गर्नुपर्छ भन्नुभएको छ ।

शेरबहादुरले चुनाव गर्ने डरले नै अग्निप्रसादले त्यसो भन्नुभएको छर्लङग छ । ख्याल रहोस्, निष्पक्ष पदमा रहनुभएका अग्निप्रसादले पदमै बसेर माओवादी कार्यकर्ताका रुपमा भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँको भूमिकाका कारण पनि सरकार अप्ठेरोमा फस्दै गएको छ । अग्निप्रसादका कारण संघीय संसद् चल्ने नसक्ने अवस्थामा पुगेकाले पनि देउवाका सामु चुनावमा जानैपर्ने वाध्यता देखिएको छ ।

प्रचण्ड र माधव नेपालहरु चुनाव चाहनुहुन्न । कांग्रेस या एमालेको बुई चढेर मात्र चुनावी सफलता हासिल गर्न सकिन्छ, गठवन्धन नगरी चुनावमा गए विजोग हुन्छ भन्ने उहाँहरुले बुझ्नुभएको छ । यही कारण प्रचण्ड र माधवहरुले न्वारानदेखिको बल लगाएर चुनावको विरोध गर्दै आउनुभएको छ ।

स्रोत अनुसार प्रचण्ड र माधव नेपालले देउवा विरोधी खेमाका कांग्रेस नेताहरुलाई भेटेर ‘देउवाले चुनाव घोषणा गर्न सक्छन्, चुनावमा गए भने महाधिवेशन पनि देउवाले नै जित्छन्, त्यसैले प्रतिनिधि सभा विघटन गर्न नदिनुस्’ भनिरहनुभएको छ ।

यता, देउवा भने प्रचण्ड र माधवको असहयोगका कारण इन्तु न चिन्तु बन्नुभएको छ । प्रचण्ड निकट नेता तथा मिडियाहरुले देउवा र उहाँको सरकारलाई खुइल्याउन कुनै कसर बाँकी राखिरहेका छैनन् । अहिले देउवा विरोधी अभियान सामाजिक सञ्जालमा सुरु गरिएको छ । प्रचण्डकै इशारामा त्यस्तो अभियान सुरु भएको प्रधानमन्त्री देउवाले थाहा पाइसक्नुभएको छ ।

कांग्रेसभित्र आफ्ना विरोधीहरुलाई उचाल्ने, बाहिर आफ्ना विरुद्ध अभियान चलाउने, चुनावमा जान पनि नदिने प्रचण्ड माधवहरुको रणनीति देखिएपछि प्रधानमन्त्री देउवाले कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रष्ट भइसकेको छैन । देउवा निकटहरुका अनुसार एकपटक मन्त्रिमण्डल विस्तार गरेर प्रचण्ड र माधवहरुलाई खुसी तुल्याउन प्रयास गर्ने, मन्त्री पद दिँदा पनि असहयोग जारी राखे चुनावमा जाने देउवाको रणनीति छ ।

‘चुनाव हुने भयो भने पनि महाधिवेशन रोकिने छैन भनेर देउवाले पार्टीभित्रका नेताहरुलाई आश्वस्त पार्नुहुनेछ, प्रतिनिधि सभा विघटन गरेर चुनावमा जाँदा कांग्रेसले एक ढिक्का भएर निर्णय गर्नेछ’– देउवा निकट नेताहरुको दावी छ ।

लोकप्रिय