मुलुक समृद्ध नबनेसम्म युवा पलायन रोकिँदैन : पूर्वमन्त्री गुरुङ
स्याङ्जा । नेपाली काङ्ग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले गफ र भाषणले मात्रै युवा पलायन नरोकिने बताएका छन् ।
कालिका पुस्तकालयको आयोजनामा भिरकोट नगरपालिका ७ मा आयोजना भएको जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिता एवम् दर खाने कार्यक्रममा बोल्दै उनले देशमा विकास नहुँदा युवा विदेश पलायन हुनुपरेको भन्दै नेताको भाषण मात्रैले युवा पलायन नरोकिने ठोकुवा गरे ।
देश समृद्धि बनाउन एक नेताले अर्को नेतालाई गाली गरेर मात्र नहुने उनको भनाइ थियो । उनले भने ‘हामी माइक पाउन साथ एक नेताले अर्को नेतालाई गाली गर्ने प्रवृत्ति बढेको छ । यसले गर्दा देश विकासमा पनि अबरोध गरेको छ ।’
देशलाई समृद्धि बनाउन सके मात्रै युवा पलायन रोकिने भन्दै देशले जडिबुटी, पर्यटन, कृषि क्षेत्र लगायतमा जोड दिन सके मात्र युवा पलायन रोकिने उनको धारणा थियो । उनले भने ‘बुबा, आमा, भर्खर बिहे गरेकी श्रीमती छोडेर रुदै विदेशीने रहर कसैलाई हुँदैन, युवालाई भाषण भन्दा पनि रोजगारीको खाचो छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले सिद्धार्थ राजमार्गको स्तरउन्नति गर्ने तयारीको काम अन्तिम अन्तिम चरणमा पुगेको बताए । उनले भने ‘सिद्धार्थ राजमार्ग डेडिकेटेट डबल लेनमा स्तर उन्नति गर्ने प्रक्रिया छिट्टै सुरु हुन्छ । यसको काम द्रुत गतिमा अगाडि बढेको छ ।’
स्याङ्जाका ग्रामीण भेगमा रहेका जोखिमयुक्त सडकलाई जोखिममुक्त बनाउने अभियान निरन्तर चलिरहेको बताउदै उनले विकास एउटा ब्यक्तिले मात्रै गर्न नसक्ने बताए । ‘सबै राजनैतिक दल,नेता,नागरिक,सरकार सबै मिलेर देशको विकास गर्ने हो,त्यसैले विकास यो नेताले उ नेताले गरेको हुँदैन’ उनको भनाइ थियो ।


प्रतिकृया दिनुहोस्