धितोपत्र बोर्डका कर्मचारी निरन्तर आन्दोलनमा

धितोपत्र बोर्डका कर्मचारी निरन्तर आन्दोलनमा

 

ललितपुर । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा कर्मचारीले आन्दोलनलाई जारी राखेका छन् । अर्थ मन्त्रालयले सेबोनका कर्मचारीको कल्याणकोष र सुरक्षण कोष खारेज गर्ने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूले दशैं अघिदेखि सुरु गरेको आन्दोलनलाई जारी राखेका हुन् ।
अर्थ मन्त्रालयले असोज २ गते सेबोनलाई पत्र लेख्दै धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (ञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न भनेको थियो ।
अर्थ मन्त्रालयले गरेको सो निर्णय फिर्ता लिनुपर्ने भन्दै बोर्डमा कार्यरत विभिन्न ट्रेड युनियन सम्बद्ध कर्मचारीले माग गरेका छन् । बोर्डका अध्यक्ष सहित केही कर्मचारीले अर्थ मन्त्रालय पुगेर छलफल गरेका थिए । तर, सो छलफलबाट कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।
सरकारले समन्वय र वार्ता गर्न नचाहँदा र कर्मचारीले पनि निरन्तर आन्दोलन गर्दा बोर्डले प्रवाह गर्ने सम्पूर्ण सेवा ठप्प भएको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले आफूहरूको आन्दोलन माग पूरा नभएसम्म जारी रहने बताएका छन् । साथै, १५ दिनदेखि कर्मचारीले आन्दोलन गर्दापनि सरकारको पक्षबाट सुनुवाइ गर्ने र छलफल गर्ने प्रयास नभएको उनको भनाइ छ ।

लोकप्रिय