शान्ति सुरक्षाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ । जनप्रतिनिधिहरुमाथि राजीनामाको दबाबको अन्त्य गर्न भन्दै नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले प्रधानमन्त्री सुशिला कार्कीलाई ज्ञापन पत्र बुझाएको छ ।
जेनजी आन्दोलनपछि जनप्रतिनिधिमाथि राजीनामाको दबाब, तोडफोड र लुटपाट भइरहेको भन्दै त्यसलाई नियन्त्रण गरी शान्ति सुरक्षा सुनिश्चित गर्न माग गर्दै गत सोमबार ज्ञापन पत्र बुझाइएको हो । ज्ञापनपत्रमा निष्पक्ष निर्वाचनका लागि सरकार र राजनीतिक दलबीच विश्वास र समझदारी आवश्यक भएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।
त्यस्तै, कुनैपनि करार कर्मचारी नराख्ने सोलोडोलो निर्णयले स्थानीय सरकारमा अत्यावश्यक सेवा अवरुद्ध भएकाले तत्काल सहजीकरण गर्नुपर्ने माग गरिएको छ । मितव्ययीताका नाममा आयोजना र अनुदान कटौतीले स्थानीय सरकारको मनोबल घटेको भन्दै संसदबाट स्विकृत आयोजना र संघीय अनुदान कटौती नगर्न आग्रह गरिएको छ । तीन तहका सरकारबीच समन्वय गर्ने संयन्त्रहरु राष्ट्रिय समन्वय परिषद्, अन्तर सरकारी वित्त परिषद् र विषयगत समितिहरूका बैठक तत्काल आव्हान गर्नुपर्ने पनि माग छ ।
त्यसैगरी जलेका कार्यालय र सवारी साधन पुनर्निर्माण तथा व्यवस्थापनका लागि संघीय स्रोत व्यवस्था गर्नुपर्ने, स्थानीय स्रोतका कार्यक्रम सञ्चालनमा अर्थ मन्त्रालयका निर्देशनले बाधा पु¥याउन नहुने, निजी सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउनुपर्ने र बीमा भुक्तानी तत्काल सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ ।
ज्ञापन पत्रमा संघीय सरकारको प्रभावकारीता स्थानीय सरकारको कार्यसम्पादनसँग जोडिएकोले समन्वय र सहकार्यलाई प्राथमिकता दिन सुझाव दिइएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कार्कीले स्थानीय सरकारले उठाएका सवालहरुमा सरकार गम्भिर भएको बताइन् । उनले योजना कटौती र कर्मचारी सम्बन्धी विषयलाई सम्बोधन गर्न तत्कालै सम्बन्धित मन्त्रीलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गरिन् । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति, सुरक्षा कायम गर्न सरकार दृढ रहेको र स्थानीय सरकारहरुले सहयोग गर्न अनुरोध गरे ।


प्रतिकृया दिनुहोस्