स्कूल व्याग पाएपछि चेपाङ विद्यार्थी हर्षित
काठमाडौ । चेपाङ विद्यार्थीहरुले स्कूल ब्याग पाएपछि खुसीले गद्गद् बनेका छन् । समाजसेवी व्यक्तित्व तथा लायन्स क्लव अफ काठमाडौ पद्मापानीका अध्यक्ष पिएमजेएफ पासाडकाजी शेर्पाले चितवनको राप्ती नगरपालिका वडा नम्वर १० मा रहेको राष्टिय आधारभूत विद्यालयमा अध्ययनरत अल्पसंख्यक चेपाङ बस्तीमा पुगेर १२७ जना विद्यार्थीहरुलाई व्याग वितरण गर्नुभएपछि विद्यार्थीहरु खुसी भएका हुन् ।
व्याग वितरण कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले विकट क्षेत्रमा बसोबास गर्ने गरिब तथा अल्पसंख्यक चेपाङ लगायतका विद्यार्थीहरुलाई व्याग वितरण गर्न पाउँदा निकै खुसी मिलेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यहाँका विद्यार्थी आर्थिक अभावका कारण विद्यालयबाट बञ्चित हुनुपरेको विभिन्न सञ्चारमाध्यमहरुमा खबर पाएको थिएँ । यो खबर सुन्दा मलाई निकै नै दुःख लागेको थियो । आज म आफैँ उपस्थित भएर त्यस्ता गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग स्वरुप व्याग वितरण गर्न पाउँदा अत्यन्तै खुसी र आत्मसन्तुष्टि मिलेको छ ।’
आजको २१ औं शताब्दीमा पनि विकट क्षेत्रका कयौं बालबालिकाले आर्थिक अभावका कारण शिक्षा प्राप्त गर्न नसकेको भन्दै अध्यक्ष शेर्पाले दुःख व्यक्त गर्दै आफूँले थप सहयोग गर्ने उद्घोष गर्दै भन्नुभयो, ‘नेपालमा अझै पनि हजारौं बालबालिकाहरु विद्यालय जानुपर्छ भन्ने चेतनाको अभाव र गरिबीका कारण शिक्षाबाट बञ्चित हुनुपरेको छ । आजको २१ औं शताब्दी पनि शिक्षाबाट बञ्चित हुनु विडम्बना हो । सरकारले यस्ता विषयमा गम्भीर बन्नुपर्दछ । मेरो क्षमताले भ्याएसम्म यस्ता बालबालिकाहरुलाई भोलीका दिनमा समेत सहयोग गर्नेछु ।’
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक दशरथ लामाले यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुको आर्थिक अवस्था कमजोर भएको कारण विद्यार्थीहरु शिक्षा लिनबाट बञ्चित बन्नुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यस क्षेत्रका मानिसहरु वर्षदिन दुःख गरेर बल्लतल्ल ६ महिना खान पुग्छ । खानका लागि मात्र कडा संघर्ष गर्नुपरेकै कारण यहाँका कयौं परिवारले बालबालिकालाई विद्यालय पठाउन सक्ने अवस्थामा छैनन् । यस्तो अवस्थामा समाजसेवी पासाडकाजीले प्रदान गर्नुभएको यो सहयोगले विद्यार्थीहरुलाई विद्यालय आउन प्रोत्साहन मिलेको छ । आगामी दिनमा समेत यस्तै किसिमको सहयोग र सद्भावको अपेक्षा गरेका छौं ।’
आर्थिक अभावकै कारण बालबालिकाहरु विद्यालय आउन नपाएको दुःख स्मरण गर्दै प्रधानाध्यापक लामाले सबै क्षेत्र र संघ संस्थाहरुसँग सहयोगको अपिल गर्नुभयो । उहाँले भन्नुभयो, ‘म २५ वर्षदेखि निरन्तर रुपमा यस विद्यालयमा आवद्ध छु । यहाँका बालबालिकाहरु आर्थिक अभावकै कारण विद्यालय आउन सकेका छैनन् । पासाडकाजी शेर्पाले व्याग वितरण गर्नुभयो त्यसैगरी अन्य सहयोगी संस्थाहरुलाई समेत विद्यार्थीका लागि आवश्यक पर्ने कापी, किताव, विद्यालय पोसाक उपलब्ध गराई सहयोग गर्नुहुन आग्रह गर्दछु ।’
प्रधानअध्यापक लामाले दिवा खाजाले समेत विद्यालयमा विद्यार्थीको उपस्थिति बढेको अनुवभ सुनाउँदै भन्नुभयो, घरमा राम्रोसँग खाजा र खाना खान समेत नपुग्ने केही विद्यार्थीहरु खाजा खानकै लागि भएपनि विद्यालयमा आउने गरेका छन् ।’
कार्यक्रममा क्लबका सचिव डा. देवराज अर्यालले समाजसेवा र मानवसेवा सक्रिय रहँदै आउनुभएका पासाडकाजी शेर्पाले विकट क्षेत्रमा सहयोग पु¥याउने सपना आज पूरा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समाजसेवा र मानव सेवाले ओतप्रोत व्यक्तित्व पद्मापानी लायन्स क्लबका अध्यक्ष पिएमजेएफ पासाडकाजी शेर्पाले गरिब, अनाथ र असाहायहरुका लागि विगत लामो समयदेखि सहयोग गर्दै आउनुभएको छ । आज यस विकट क्षेत्रमा आएर सहयोग गर्न पाउँदा उहाँ निकै हर्षित बन्नुभएको छ । पद्मापानी लायन्स क्लबले यहाँ आएर व्याग वितरण गर्न पाउँदा गौरव गर्दछ ।’
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम प्रजाले पद्मापानी लायन्स क्लब र क्लबका अध्यक्ष पिएमजेएफ शेर्पाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का कोषाध्यक्ष अर्जुन तामाड, नेपाल तामाड घेदुडका केन्द्रीय सदस्य विलाम मोक्तान, लायन्स क्लब अफ काठमाडौ पद्मापनीका सदस्यद्वय पेमा सुन्दर शेर्पा र लोप्चन शेर्पा लगायत नेपाल पत्रकार महासंघ काठमाडौका उपाध्यक्ष हेम बहादुर राना ‘कमल’, आर्थिक प्लस डटकमका सञ्चालक अमिल लामा लगायत विद्यालयका शिक्षक र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।
चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. १०मा अवस्थित कोराक गाउँ निकै विकट क्षेत्र मानिन्छ । यस स्थानमा १ सय ५० भन्दा बढी घर चेपाङ र १ सय भन्दा बढी तामाड परिवार बसोबास गर्दै आएका छन् । स्कूल व्याग पाएपछि विद्यार्थीहरु निकै खुसी देखिएका थिए ।




प्रतिकृया दिनुहोस्