सहिद पार्कमा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको सहिदपार्कमा नगरपालिकाको पर्यटन प्रबर्द्धनका लागि विशेष कार्यक्रम सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले उक्त कार्यक्रमको आयोजना गरेको गरेको थियो ।
गोकर्णेश्वर नगरपालिकाका मेयरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्ष शोभा अर्यालले सभापतित्व गरेकी थिइन् ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसारलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
नगरको पर्यटन विकासले स्थानीय आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै वक्ताहरूले सरकारी निकाय, स्थानीय समुदाय र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
प्रमुख अतिथि मेयरले गोकर्णेश्वर नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न योजना अघि बढाइरहेको बताएका थिए। उक्त कार्यक्रममा मेयर रिसालले पर्यटन प्रवर्द्धनमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै तथ्यपरक र सकारात्मक समाचार प्रवाहका लागि आग्रह गरे।
सभापति शोभा अर्यालले पर्यटन विकासमा सञ्चारमाध्यमको जिम्मेवारी र योगदानबारे चर्चा गर्दै गोकर्णेश्वर नगरपालिकाका पर्यटकीय सम्भावनाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पत्रकार महासंघ काठमाडौं शाखा सदैव सहयोगी रहने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा नगरपालिकाका उपमेयर सान्नानी लामा, प्रेस काउन्सिल नेपालका सदस्यद्वय सन्तराम विडारी र अनुल अर्याल, पत्रकार महासंघ काठमाडौंका संस्थापक अध्यक्ष तथा केन्द्रका पुर्व केन्द्रीय अध्यक्ष बरिष्ठ पत्रकार किशोर नेपाल, केन्द्रीय सल्लाहकार रमेश बिष्ट, केन्द्रीय सदस्य सूर्य सुवेदी, अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी देवेन्द्र चुडाल, पत्रकार महासंघका पूर्व अध्यक्ष प्रभु नारायण बस्नेत, स्थानीय जनप्रतिनिधि लगायत काठमाडौं शाखाका करिव ३ सय पत्रकारहरुको उपस्थिति थियो ।
कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका संयोजक तथा पत्रकार महासंघ काठमाडौंका उपाध्यक्ष हेम बहादुर राना(कमल)ले दिएका थिए। अतिथिहरुको स्वागत शाखा सहसचिव बिक्रम रत्नले गरेका थिए।


प्रतिकृया दिनुहोस्