गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

काठमाडाैँ २३ माघ-गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय शुभेच्छा प्रस्तुत गरेको छ।

ओमप्रकाश राईको संगीत र पेमा शेर्पा राईको स्वरले गीतलाई मर्मस्पर्शी बनाएको छ। गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’ को इडिटिङ र गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ।

शब्द, संगीत र स्वरको सन्तुलनले गीत सुन्दर बनेको छ।

उनका केही गीत यसअघि नै रेकर्ड भइसकेका छन्। २०७५ मा शिला खनालले ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’, २०७९ मा मनमा बी राईले र २०८१ मा नवराज पराजुलीले ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा राई हाल काठमाडौंमा रहेर साहित्य र पत्रकारितामा सक्रिय छन्।

उनले यसअघि दस वर्षे शिक्षण अनुभव बटुलेका छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन्।

नेपाली लघुकथाको क्षेत्रमा सक्रिय राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव हुन्।

उनी लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष तथा ‘लघुकथा सौन्दर्य’ का संस्थापक समेत हुन्।

उनका लघुकथा ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) सामूहिक लघुकथासंग्रहमा समावेश छन्।

राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ प्रकाशित भइसकेको छ।

उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ पत्रिकामा समेत सम्पादन अनुभव बटुलिसकेका छन्।

नेपाली भाषा र साहित्यमा योगदानको कदरस्वरूप राईले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०) र गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन्।

लोकप्रिय