इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
काठमाडौं, साउन १७, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति अमेरिकाले इरानमाथि गर्ने तयारीमा रहेको सैन्य आक्रमण तत्कालका लागि रद्द गरेको दाबी गरेका छन् । इरानसँग छिट्टै सम्झौता हुने सम्भावना देखिएकाले यो निर्णय गरिएको उनले बताए ।
ट्रम्पका अनुसार अमेरिका इरानविरुद्ध कारबाही गर्न पूर्ण रूपमा तयार भए पनि इरान तथा पश्चिम एसियाका अन्य देशहरूको आग्रहपछि विश्वको दीर्घकालीन हितका लागि आक्रमण स्थगित गरिएको हो ।
प्रस्तावित सम्झौतामा तुरुन्तै होर्मुज जलडमरूमध्ये पुनः खोल्ने र इरानको आणविक खतरा अन्त्य गर्ने व्यवस्था समावेश हुने दाबी पनि उनले गरे । सम्झौता छिट्टै सम्पन्न हुन सके इजरायलले पनि इरानमाथिको आक्रमण रोक्ने उनले बताए ।
यसअघि बुधबार अमेरिकाले इरानभित्र विभिन्न सैन्य लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको ट्रम्पले बताएका थिए । त्यसयता अमेरिकाले इरानभित्र नयाँ आक्रमण गरेको कुनै रिपोर्ट सार्वजनिक भएको छैन ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि युद्ध सुरु गरेपछि केही घण्टामै इरानले हर्मुज जलडमरू बन्द गरेको थियो । पाँच महिनाभन्दा बढी समय बितिसक्दा पनि यो महत्वपूर्ण जलमार्ग बन्द नै रहेको इरानी पक्षको दाबी छ ।
हर्मुज हुँदै युद्धअघि विश्वको करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुने गरेको थियो । जलमार्ग बन्द हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध उत्पन्न हुनुको साथै मूल्य बढेको छ ।


प्रतिकृया दिनुहोस्