माकाजु र खनाललाई ‘हेमबहादुर मल्ल’ पुरस्कार

माकाजु र खनाललाई ‘हेमबहादुर मल्ल’ पुरस्कार

 

काठमाडौं । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ । जनप्रशासन संघले हालै एक कार्यक्रमको आयोजना गरी डा. रामकण्ठ माकाजुलाई २०८१ र रामेश्वर प्रसाद खनाललाई २०८२ सम्मानबाट पुरस्कृत गर्ने संघले जनाएको छ ।
संघले नेपालको उत्कृष्ट नमुना अस्पतालका रूपमा स्थापित धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालन लगायत गुणस्तरीय सार्वजनिक सेवाको क्षेत्रमा पु¥याएको विशिष्ट योगदानको कदर स्वरूप डा. माकाजुलाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
डा. माकाजुको नेतृत्वमा स्वास्थ्य सेवा तथा संस्थागत विकासका क्षेत्रमा अघि बढाइएको कार्यले स्वास्थ्य सेवाको प्रभावकारिता, गुणस्तर र नागरिकप्रतिको उत्तरदायित्व सुदृढ गर्न महत्वपूर्ण योगदान पु¥याएको संघले जनाएको छ ।
उनका योगदान व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही संस्थागत विकास, गुणस्तरीय सेवा प्रवाह र सार्वजनिक हितप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा रहेको संघको भनाइ छ ।
त्यसैगरी सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई पनि हेमबहादुर मल्ल सम्मान प्रदान गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
सार्वजनिक जिम्मेवारीमा रहँदा नीति, प्रशासन तथा सार्वजनिक सेवाका क्षेत्रमा उनले निर्वाह गरेको भूमिका र योगदानलाई सम्मान प्रदान गर्ने आधार बनाइएको संघले जनाएको छ ।
यी दुई सम्मानका लागि उत्कृष्ट व्यक्तित्व छनोट गरी सिफारिस गर्न नेपाल सरकारका पूर्वसचिव तथा नेपाल जन–प्रशासन संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा सम्मान छनोट समिति गठन गरिएको थियो । उक्त समितिको सिफारिसका आधारमा संघले दुवै व्यक्तित्वलाई सम्मान गर्ने निर्णय गरेको हो ।
सम्मान छनोटका क्रममा सार्वजनिक सेवा क्षेत्रमा सम्बन्धित व्यक्तिले दिएको योगदान, सार्वजनिक जीवनमा पु¥याएको प्रभाव, संस्थागत नेतृत्व तथा विकासमा निर्वाह गरेको भूमिका र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धतालाई महत्वपूर्ण आधार बनाइएको संघले जनाएको छ ।
संघका अनुसार सम्मानमा नगद रु। २ लाख सहित पुरस्कारको व्यवस्था गरिएको छ । सार्वजनिक सेवामा उत्कृष्ट योगदान पु¥याउने व्यक्तित्व तथा संस्थागत योगदानलाई राष्ट्रियस्तरमा कदर गर्ने उद्देश्यले सम्मान स्थापना गरिएको हो ।
संघले विगतदेखि सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा विभिन्न सार्वजनिक सरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ ।
सम्मान यही भाद्र ८ गते सोमबार एक समारोहबीच अर्पण गरिने संघले जनाएको छ । सम्मान समारोहमा सम्मानित व्यक्तित्वको योगदानलाई औपचारिक रूपमा कदर गर्दै उहाँहरूको अनुभव, दृष्टिकोण तथा सार्वजनिक सेवाप्रतिको प्रतिबद्धतालाई सार्वजनिक संवादमार्फत प्रस्तुत गरिनेछ ।
नेपाल जन–प्रशासन संघका अध्यक्ष मधुरमण आचार्यद्वारा जारी विज्ञप्तिमा सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासन तथा व्यवस्थापनकर्मीको पेशागत सम्बन्धलाई मर्यादित र सुदृढ बनाउँदै सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन तथा मूल्यांकनमा व्यावसायिक पृष्ठपोषण गर्ने उद्देश्यले संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख छ ।
साल्ट ट्रेडिङले नेपाल जनप्रशासन संघसँगको सहकार्यमा आफ्ना प्रथम अध्यक्ष हेमबहादुर मल्लको स्मृतिमा २०५९ सालमा उक्त पुरस्कार स्थापना गरेको थियो । स्वर्गीय मल्लले साल्ट ट्रेडिङको संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर, इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गर्नुभएको थियो ।
१९९५ सालमा बागलुङ जिल्लाको निसिभुजीमा जन्मिनुभएका मल्ल साल्ट ट्रेडिङका साथै तत्कालीन नेसनल फाइनान्स, सगरमाथा इन्स्योरेन्स र सुवर्ण फर्मास्युटिकल्सको अध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै, गोरखकाली रबर उद्योग र हितकारी गुठीको सञ्चालकका साथै नेपाल चेम्बर अफ कमर्स र नेपाल व्यवस्थापन संघको कार्यकारी सदस्यसमेत हुनुहुन्थ्यो । उहाँको २०५७ सालमा निधन भएको थियो ।
यसअघि उक्त सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान् कोइराला, डा. विमल कोइराला, डा. महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेशप्रसाद मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकरलाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान, भानुप्रसाद आचार्य, कल्याण श्रेष्ठलगायतका व्यक्तित्वहरु यस पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

लोकप्रिय