संसदीय मर्यादा रास्वपाकै कारण खतरामा
काठमाडौं । नेपाली समाजमा एउटा उखान निकै चर्चित छ, ‘बोकाको मुखमा कुबिण्डो’ अर्थात्, अयोग्यको हातमा अमिल्दो जिम्मेवारी । नेपाली राजनीतिमा अहिले यो उखान चरितार्थ भएको छ । संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई संसदीय गरिमा अहिले कुबिण्डो सरह नै भएको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १ सय ८२ जना सांसदहरु रहेका छन् । संख्याका हिसाबले रास्वपा संसदमा शक्तिशाली छ तर सांसदहरुको भूमिकाले उसलाई ‘लज्जित’ बनाइरहेको छ ।
संसदीय अभ्यासका आधारभूत मूल्य मान्यता समेत बिर्सिएर रास्वपाका सांसदहरुले दिनहुँजसो एउटा न एउटा काण्ड गराइरहेका छन् । कहिले बोलीले कहिले व्यवहारले रास्वपाका सांसदहरु विवादमा परिरहेका छन् । नेपालको संसदीय इतिहासमै सबैभन्दा हास्यास्पद र अपरिपक्व दृश्यहरु अहिलेको प्रतिनिधिसभामा देखिन थालेको छ ।
जान्नेलाई छान्ने नारामै सीमित
रास्वपा पार्टी स्थापनादेखिकै नारा हो, जान्नेलाई छान्ने । जान्ने अर्थात योग्य, अनुभवी र परिपक्व । चुनावमा पनि रास्वपाले आफ्ना उम्मेदवार अरुभन्दा ‘जान्ने’ भन्दै प्रचार गरेको थियो । प्रतिनिधिसभाको बैठक सुरु हुन थालेसँगै रास्वपाका सांसदहरुको अपरिपक्वता संसदमा देखिन थालेको छ । जसले संसदीय गरिमामा गम्भीर धक्का पुर्याएको छ ।
चुनावबाट ठूलो दल बनेलगत्तै रास्वपाले पाँचतारे होटलमा आफ्ना सांसदहरुलाई २ दिने आवासीय प्रशिक्षण दिएको थियो । जसमा संसदीय व्यवहार र आचरण सिकाइएको दावी गरिएको थियो । त्यसयता पनि रास्वपाले आफ्ना सांसदहरुलाई विभिन्न प्रशिक्षण दिदैं आइरहेको छ । तर अटेरी विद्यार्थीले जस्तो रास्वपाका सांसदहरुले सदनमा संसदीय आचारणविपरीतका कामहरु लगातार गरिरहेका छन् । पुराना दल, पुराना नेता र पुराना सांसदहरुलाई नजान्ने करार गर्न कस्सिएका रास्वपा सांसदहरुको हर्कतले नेपालको संसदीय दृश्यलाई ‘सर्कस’ जस्तो बनाइदिएको छ ।
सांसदहरु अभियन्ताकै शैलीमा
हालै प्रतिनिधिसभाको एक बैठकमा रास्वपा सांसद सुलभ खरेलले आकस्मिक समयको माग गरे । सभामुखले आकस्मिक समय दिएपछि खरेलले रास्वपाको आन्तरिक कुरा गर्न थाले । रास्वपाले स्थानीय चुनावको तयारी गरेको बारेमा बोल्न थालेपछि सभामुखले उनलाई रोक्नुप¥यो । अरुभन्दा पढेका र कानुन व्यवसायीसमेत रहेका सुलभकै त यो हालभएपछि अरु सांसदको के कुरा ?संसदीय गरिमालाई कमजोर बनाउन रास्वपाकी सांसद आशिका तामाङको उत्तिकै योगदान छ ।
मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा मन्त्रीले जवाफ दिइसकेपछि पुनः प्रश्नको प्रावधान संसदको नियमावलीमा छैन । तर परराष्ट्रमन्त्रीले जवाफ दिइसकेको विषयमा पुनः प्रश्न सोध्न उठेपछि सभामुखले उनलाई रोक्नुप¥यो । सभामुखको निर्देशन पालना गर्नुको साटो उनी बर्बराउँदै आफ्नो झोला बोकेर बैठकस्थलबाट बाहिरिइन् ।
यो निकै असुहाँउदो दृश्य थियो । जसले आशिका र रास्वपाको मात्रै होइन संसदीय मर्यादाकै मानहानि ग¥यो । उनै आशिकाले सरकारले आयोजना गरेको एक छलफल कार्यक्रममा उपत्यकाका विभिन्न स्थानीय सरकारका प्रमुखहरुसँग सवाल जवाफ गर्दै कार्यक्रमबाट बाहिरिइन् । यसले पनि रास्वपाले आफ्ना सांसदहरुलाई मर्यादा सिकाउन नसकेको प्रष्ट भयो ।
संसदको सार्वजनिक लेखा समितिमा रास्वपा सांसद खगेन्द्र सुनारले निकृष्ट आरोप लगाएपछि प्रहरी महानिरिक्षकले बैठकमै प्रतिवाद गरे । सभामुख समेतले संसदीय समितिका अतिथिहरुलाई छलफलका नाममा अपमान गर्न नहुने बताउनुपर्यो । यी केही उदाहरण मात्रै हुन्, बितेको साढे ५ महिनामा संसदका हरेकजसो बैठकका रास्वपा सांसदका कुनै न कुनै हर्कत विवादास्पद बनेका छन् । जसले रास्वपाको अपरिपक्वता प्रदर्शन मात्रै गराएको छैन, संसदीय व्यवस्थाको अपमान समेत गरेको छ ।
रवि दिक्क, सभामुख एक्सनमा
संसदमा आफ्ना सांसहरुको भूमिकाबाट रास्वपा सभापति रवि लामिछाने आफै दिक्क छन् । यही साता सम्पन्न रास्वपा संसदीय दलको बैठकमा सभापति लामिछानेले संसद र समितिका बैठकमा मर्यादित भएर प्रस्तुत हुन निर्देशन दिए ।
उनले आफ्ना सांसदहरुलाई मर्यादामा रहन र अभियन्ताको शैली छाड्न निर्देशन दिए । सांसदहरुको व्यवहारबाट दिक्क भएका नेता, कर्मचारी तथा सरोकारवालाले बारम्बार ध्यानाकर्षण गराएपछि रवि आफैले बैठक राखेर सांसदहरुलाई निर्देशन दिनुप¥यो । जहाँ उनले खगेन्द्र सुनार र आशिका तामाङको नामै लिएर व्यवहार सुधार्न निर्देशन दिए ।
एकातिर रास्वपा सभापति आफै दिक्क छन्, अर्कोतिर सभामुख डिपी अर्यालपनि क्रमशः कडा रुपमा प्रस्तुत हुन थालेका छन् । संसद सुरु भएका केही महिना रास्वपालाई सहयोग गरेको र निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लागेका सभामुख अर्यालले हालै आफ्नो व्यवहार बदलेका छन् । उनले सांसदहरुलाई रुलिङ गर्न थालेका छन् । हालै उनले प्रधानमन्त्री बालेन्द्र साहलाई पनि संसदमा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका छन् ।
रास्वपा सांसदहरुको व्यवहार सुधार्न सभामुखदेखि सभापतिसम्म लागेपनि पछिल्ला केही दिनमा पनि उनीहरुको व्यवहार सुध्रिएको छैन । अरुलाई गाली गर्न तम्सने तर आफ्नो व्यवहारलाई पदीय मर्यादा अनुकुल बनाउन नसक्ने रास्वना सांसदहरुको अपरिपक्वता मुलुकले अझै साढे ४ वर्ष व्यहोर्नै बाँकी छ ।


लेखकको सम्वन्धमा