ब्रुक्लिन कलेजको ‘Welcome & Graduation Program’ भव्य रूपमा सम्पन्न

ब्रुक्लिन कलेजको ‘Welcome & Graduation Program’ भव्य रूपमा सम्पन्न

काठमाडौं । सुकेधारास्थित Brooklyn College द्वारा आयोजित ‘Welcome & Graduation Program – Formal Program (Phase II)’ विविध शैक्षिक, सामाजिक तथा विद्यार्थीकेन्द्रित गतिविधिसहित भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा शिक्षा क्षेत्रका व्यक्तित्व, सरकारी सेवाका पूर्व अधिकारी, सञ्चारकर्मी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता Brooklyn College का अध्यक्ष डा. खिला नाथ सापकोटाले गर्नुभएको थियो भने त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा नेपालमा +2 कार्यक्रमसम्बन्धी उच्च शिक्षा बोर्डका संस्थापक कार्यकारी उपाध्यक्ष प्रा. डा. तीर्थ खनियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. सापकोटाले शिक्षा केवल पाठ्यपुस्तक र परीक्षामा सीमित हुन नहुने बताउनुभयो। उहाँले विद्यार्थीमा ज्ञान, सीप, अनुशासन, सिर्जनशीलता तथा सामाजिक उत्तरदायित्वको विकास गराउनु शिक्षण संस्थाको महत्वपूर्ण दायित्व रहेको उल्लेख गर्नुभयो।

“शिक्षाको उद्देश्य केवल विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नु मात्र होइन, जीवनका चुनौती सामना गर्न सक्ने सक्षम, अनुशासित, सिर्जनशील र जिम्मेवार नागरिक तयार गर्नु पनि हो,” उहाँले भन्नुभयो। Brooklyn College ले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको उहाँको भनाइ थियो।

बदलिँदो विश्व परिवेशअनुसार विद्यार्थीलाई प्रविधि, व्यावहारिक ज्ञान र सीपसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष सापकोटाले विद्यार्थीको प्रतिभा पहिचान गरी त्यसलाई सही दिशामा विकास गर्न सके शिक्षा समाज परिवर्तनको प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो।

त्यसैगरी प्रमुख अतिथि प्रा. डा. खनियाँले आधुनिक शिक्षामा प्रविधि, अनुसन्धान, सिर्जनशीलता र व्यावहारिक सीपको महत्व बढ्दै गएको बताउनुभयो। उहाँले वर्तमान प्रतिस्पर्धात्मक समयमा प्रमाणपत्र मात्र प्राप्त गर्नु पर्याप्त नहुने भन्दै ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने क्षमता, सिर्जनात्मक सोच, समस्या समाधान गर्ने दक्षता तथा जिम्मेवार नागरिक बन्ने संस्कार आवश्यक रहेको उल्लेख गर्नुभयो।

प्रा. डा. खनियाँले विद्यार्थीले आफूले हासिल गरेको ज्ञानलाई समाजको सकारात्मक परिवर्तनमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षा व्यक्तिको करियर निर्माणमा मात्र सीमित नभई समाज र राष्ट्र निर्माणसँग समेत जोडिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल सरकारका पूर्व उपसचिव मिनप्रसाद ज्ञवाली, हास्य कलाकार अमरेन्द्र यादव, Brooklyn Academy/College का संस्थापक तथा व्यवस्थापन पक्षका पदाधिकारीहरू, Future Citizen Nepal का अध्यक्ष बीबी फुयाल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी सुकेधारा प्रहरी चौकीका वरिष्ठ प्रहरी निरीक्षक धर्मेन्द्र कुमार झा, पत्रकार सविन पन्त, सांगे शेर्पा, नबिन ढलामा लगायत सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले गुणस्तरीय शिक्षा, विद्यार्थीको क्षमता विकास, अनुशासन, सामाजिक उत्तरदायित्व तथा शिक्षण संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। शिक्षण संस्थाले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक जीवन, प्रविधि तथा सामाजिक जिम्मेवारीसँग जोड्नुपर्ने धारणा पनि वक्ताहरूले व्यक्त गरेका थिए।

कार्यक्रममा Brooklyn College तथा Brooklyn Academy का शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ विद्यार्थीलाई स्वागत गर्नुका साथै अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई बधाई तथा आगामी भविष्यका लागि शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक तथा शैक्षिक क्षेत्रका सरोकारवालाबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अशोक राज पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न वक्ताका मन्तव्य, विद्यार्थीहरूको सहभागिता तथा शुभकामना आदान–प्रदानसहित विविध गतिविधि प्रस्तुत गरिएको थियो। उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा स्वागत तथा दीक्षान्त समारोहको उद्देश्यसँगै विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासप्रति संस्थाको प्रतिबद्धता प्रस्तुत गरिएको थियो।

लोकप्रिय