उद्देश्यविपरीत कार्य गरेका ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द

उद्देश्यविपरीत कार्य गरेका ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द

काठमाडौं असोज ७, अध्यागमन विभागले प्रचलित कानूनबमोजिम नेपालमा व्यापारिक वा औद्योगिक व्यवसायमा लगानी गर्ने इजाजतप्राप्त विदेशी नागरिकलाई सम्बन्धित निकायको सिफारिसमा व्यावसायिक भिसा जारी गर्दै आएको छ । साथै नेपालमा उत्पादित मालसामान खरिद गरी निकासी गर्ने विदेशीलाई समेत व्यावसायिक भिसा जारी गर्ने व्यवस्था रहेको छ ।
अध्यागमन नियमावली, २०५१ मा व्यावसायिक भिसा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सोही उद्देश्यका साथ नेपालमा बस्नुपर्ने व्यवस्था छ । व्यावसायिक भिसालाई रोजगारी, श्रम वा अन्य असम्बन्धित कार्यका लागि प्रयोग गर्न मिल्दैन ।
विभाग र सम्बन्धित निकायसँगको समन्वयमा गरिएको पछिल्लो अनुगमनका क्रममा केही व्यावसायिक भिसा प्राप्त गरेका विदेशी नागरिकहरू भिसा सिफारिस तथा स्वीकृतिसँग सम्बन्धित व्यवसाय वा लगानीको उद्देश्यभन्दा फरक प्रकृतिको रोजगारी, श्रम वा अन्य कार्यमा संलग्न रहेको पाएकोले विभागले त्यसप्रति ध्यानाकर्षण जनाएको छ ।
सिन्धुली जिल्ला, मरिण गाउँपालिका वडा नं. ०४, साहानस्थित चेङ्गु टिएन फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन जियान फुड प्रा.लि, नेपाल हिट प्रोसिड बुफेल्लो मिट एक्सपोर्ट टु चाइना प्रोजेक्टमा कार्यरत ८८ जना विदेशी नागरिकले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिई भिसाको उद्देश्यविपरीत कार्य गरेको पाइएकोले निजहरुको व्यावसायिक भिसा रद्द गरिएको अध्यगनम विभागका निर्देशक तथा प्रवक्ता टिकाराम ढकालद्वारा जारी प्रेस विज्ञाप्तिमा जनाएको छ ।
अध्यागमन विभाग सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र शर्तबमोजिमका क्रियाकलापमा मात्र संलग्न हुन अनुरोध गरेको छ ।
सम्बन्धित उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई पनि उपयुक्त भिसा र स्वीकृतिविना विदेशी नागरिकलाई रोजगारीमा संलग्न नगराउन जानकारी समेत आग्रह गरेको छ ।

लोकप्रिय