स्ट्रेट अफ होर्मुज खोल्न इरानले अमेरिकालाई पुनः दोहोर्याए पूरानै प्रस्तावहरु
काठमाडौं असोज १०, अराघाँचीका अनुसार ती सर्तहरू जुन महिनामा हस्ताक्षर गरिएको समझदारी पत्र (एमओयू) मा समावेश छन् । यो योजना कतारमार्फत अमेरिकालाई बुझाइएको जानकारी दिँदै उनले भने, ‘अब विकल्प अमेरिकाको हातमा छ ।’
इरानी प्रस्तावबारे सोधिएको प्रश्नमा एक अमेरिकी अधिकारीले मध्यस्थकर्ताहरूमार्फत आणविक लगायतका विषयमा सकारात्मक छलफल भइरहेको जानकारी दिए । यसै साताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इस्लामिक गणतन्त्रलाई नामेट पार्ने’ धम्की दिएका थिए ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले खाडीमा रहेका इजरायली र अमेरिकी अखडाहरूका साथै अमेरिकाका अरब खाडीका सहयोगी राष्ट्रहरूमाथि आक्रमण गर्नुका साथै स्ट्रेट अफ होर्मुज बन्द गरिदिएको थियो ।
युद्धअघि विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास यही जलमार्ग हुँदै जाने गथ्र्यो र यसको बन्दले ऊर्जाको मूल्यमा ठूलो उतारचढाव ल्याएको छ । यसले द्वन्द्व अन्त्यको उपाय खोज्न ट्रम्पमाथि दबाव पनि बढाएको छ । विशेषगरी अमेरिका नोभेम्बरमा हुने काँग्रेसको चुनावतर्फ अघि बढिरहँदा यो दबाव अझ बढेको हो ।
अराघाँचीले पत्रकारहरूसँग भने, ‘आवश्यक सर्तहरू पूरा भएमा, जलमार्ग पुनः खोल्न सकिन्छ, सात दिनभित्रै सामान्य समुद्री मार्ग पुनस्र्थापित गर्न सकिन्छ ।’
इरानले अमेरिकाबाट चाल्नुपर्ने कदमहरूबारे उनले स्पष्ट पारेनन् । यद्यपि उनले थपे, ‘अमेरिकाले चाल्नुपर्ने कदमहरू नयाँ होइनन् । ती सबै पहिले नै समझदारी पत्रमा उल्लेख भइसकेका छन् ।’
उनले थप स्पष्ट पार्दै भने, ‘यदि अमेरिकी पक्षमा सम्झौतामा पुग्न र स्ट्रेट अफ होर्मुज खोल्न गम्भीरता छ भने, अहिले सबै कुरा तयार छ ।’
जुन १८ मा अमेरिका र इरानबिच हस्ताक्षर भएको समझदारी पत्र युद्धविराम गराउन र कम्तीमा आंशिक रूपमै भए पनि स्ट्रेट अफ होर्मुज खोल्न तयार पारिएको थियो ।
उक्त १४ बुँदे सम्झौतामा इरानले कहिल्यै पनि आणविक हतियार नराख्ने उल्लेख थियो । साथै, अमेरिका, इरान र उनीहरूका सहयोगी राष्ट्रहरूले ‘सबै मोर्चाहरूमा’ सैन्य कारवाही अन्त्य गर्ने विषय समेटिएको थियो । यसमा अमेरिकी नौसैनिक नाकावन्दीको अन्त्य र प्रतिबन्ध खुकुलो पार्ने प्रावधानहरू पनि समावेश थिए ।
सम्झौतामा इरानले जलमार्ग हुँदै ‘व्यावसायिक पानीजहाजहरूको सुरक्षित आवतजावतका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने’ र भविष्यको पारवहन व्यवस्थाबारे ओमानसँग वार्ता गर्ने कुरा पनि उल्लेख थियो । तर दुबै पक्षले पुनः आक्रमण सुरु गरेपछि केही समयमै यो सम्झौता भंग भएको थियो ।
रोयटर्सले उद्धृत गरेको वस्तु तथा तथ्याङ्क विश्लेषण गर्ने कम्पनी केपलरका अनुसार पारवहन तथ्यांकले पछिल्लो १० दिनमा दैनिक औसत करिब १८ वटा पानीजहाज आवतजावत गरेको देखाउँछ । कुनै दिन त यो संख्या घटेर ९ वटासम्म झरेको थियो ।
यद्यपि, इरानको सहयोगी मानिने यमनको हुथी समूहले हालै अरेबियन प्रायद्वीपको अर्कोतर्फ रहेको लाल सागरमार्फत हुने साउदी अरबको तेल निर्यात अवरुद्ध पार्ने उद्देश्यले आक्रमण तीव्र पारेको छ ।
यस समूहले यसै महिना तीव्र आक्रमण गर्दै लाल सागर तटको ठूलो सामरिक महत्वको क्षेत्र कब्जा गरेको छ । यसमा मोखा बन्दरगाह पनि समावेश छ, जसले विश्वव्यापी पारवहनको अर्को मुख्य नाका बाब अल–मन्डेब जलमार्गलाई नजिकबाट हेर्छ ।
साउदी तेल संरचनाहरूमा हुथीले गरेको आक्रमणले अवस्थालाई झनै बिगारेको छ । साउदी युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग सैन्य सहयोग मागेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्रोत: रोयटर्स


प्रतिकृया दिनुहोस्